• शुक्रबार ७-२९-२०७६/Friday 11-15-2019
विचार

मैले खुट्टा नटेक्ने प्रण गरेका दुई मुलुक

ल्याबरोटरी स्कुलको पाँच कक्षामा हुँदा हाम्रो ग्रेड टिचर साहाना प्रधान हुनुहुन्थ्यो । बढो शालीन स्वभाव को ‘मिस’ साहानाको राजनीतिक पृष्ठभूमीका बिषयमा हामी बिद्यार्थीहरुलाई (कमसे कम मेरो हकमा) अनभिग्य थियौं । उहाँ निर्बासमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी संस्थापक एवं त्यस पार्टीको प्रथम महासचिवको श्रीमती तथा आफै पनि अग्रीम पंक्ति नेत्री भन्ने बिषयमा हामीलाई अत्तोपत्तो थिएन ।  

 

एक दिन हाम्रो कक्षामा (बिद्यार्थीहरुको) कथा सुनाउने आग्रहलाई स्वीर्कादै  उहाँले आफु बर्मामा हुर्किदाको रमणीय बातावरण, दोश्रो बिश्वयुद्ध कालखण्डमा कसरी जापानीहरुले बर्मामा कब्जा जमाए तथा ब्रिटिश उपनिबेसवादी शासकहरुले कसरी गोर्खालीहरुको सहयोगमा पुन बर्मामा कब्जा जमाए त्यसको वर्णन गर्नुभयो । त्यसो गर्दा उहाँले लडाई हुँदै गर्दा आफ्नो परिवार बिस्थापीत भएर नेपाल आउँदा यात्रामा भोगेको दुखको गाथाहरु पनि सुनाउनु भयो । उनीहरुसँग जंगल फाडेर खेती गर्ने जमीन खनेर महंगा ढुंगाहरु जम्मा गरे र शहरमा बिक्रि गरेरे जीविका संचालन गर्नुको बिकल्प थिएन । उहाँले बर्माको प्राकृतिक सुन्दरताका बिषयमा यती राम्रो वर्णन गर्नुभएको थियो, त्यो सुनेपछि, ठुलो भएपछि त्यहाँ जाने मेरो जीवनको उदेश्य बनेको थियो । वयस्क जीवन प्रवेश पश्च्यात २००७ सालको क्रान्ती मा बर्मा सरकारले हात हतियारहरु नेपाली कांग्रेसलाई उपलब्ध गराएको पढन पाएपछि बर्मेलीहरुप्रति सम्मान जागेको थियो ।  


त्यसपछिका दिनहरुमा आर्थिक बिकास सम्बन्धी अध्यन गर्दा सैनिक शासकहरुले कुनै समय एशियाकै सम्पन्न मुलुकलाई कसरी कंगाल तुल्याए त्यसको गाथाहरु थाहा हुन थाले । त्यहाँ बसोबास गर्ने नेपालीहरु लखेटीए, नेपाल आउन थाले । आफ्नो मुलुक बासीहरुलाई पनि देश निस्काशन गर्ने कस्ता शासक होलान् ? यस प्रश्नले मलाई निक्कै पिरोलिने गर्दथ्यो । तिब्बती शरणार्थीहरुको अत्यन्त दयनीय अवस्था देखेको हुनाले बर्मेलीहरुको पनि त्यस्तै अवस्था त होला भन्ने मेरो अनुमान थियो । 


बिगत पाँच दशकको अवधिमा बर्माबाट नेपाल भित्रिएकाहरु मध्य अधिकांशको समायोजन मात्र भएको होइन्, उनीहरु सम्पन्न पनि भईसकेका छन् । तर, संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगमा कार्यरत हुँदा बैंककमा (थाइल्याण्ड) भएको नेपाली भाषाभाषी बर्मेलीहरुसंग सम्पर्कको अनुभव अत्यन्त करुणादायी रहयो । साठ्ठीको दशकमा नेपाल आईपुग्नेहरुको भन्दा थाइल्याण्डमा शरण लिन पुगेकाहरुको अवस्था अत्यन्त करुणादायी छ ।

 

बर्माबाट खेदिदै उनीहरुको परिचयपत्रहरु थाइल्याण्ड प्रवेश पुर्व खोसिने गर्दछ । थाइल्याण्डले त्यसरी भित्रिएका नेपाली भाषा भाषीहरुलाई ‘शरणार्थी’ को दर्जा दिदैंन । उनीहरुलाई अबैध रुपमा प्रवेश गर्ने मन्छ । संयुक्त राष्ट्रसंघले उनीहरुको सहयोग गर्दैन किनकी थाई सरकारले बर्माबाट आफ्नो भूमिमा प्रवेश गर्ने बर्मेली बिद्रोहीहरुलाई जस्तो नेपाली भाषा भाषीहरुलाई बिश्व समुदायसंग सहयोग गर्न अनुरोध गरेको छैन । त्यसकारण अधिकांश थाइल्याण्ड प्रवेश गरेका नेपाली मूलका बर्मेली नागरीकहरु राष्ट्रबिहीन ‘स्टेटलेस’ छन् । थाइल्याण्डमा उनीहरु उपर गरिने शोषणको वर्णन अपार छ । एउटा आलेखमा अटाउँदैन । रोहिंगाहरुको गाथा ताजै भएको हुनाले त्यस बिषयमा यहाँ वर्णनको  आवश्यक्ता  ठान्दिन । 


व्यक्तिगत हिसाबले मलाई ठुलो धोखा दिने व्यक्ति आङ्ग साङ्ग सुकी भएकी छिन् । आफ्नै घरमा बन्दी भएकी सुकिलाई मेरो पूस्ताले महान नेता ठानेको थिए । तिनीद्धारा लिखीत दुई पुस्तकहरु 'फ्रिडम फ्रम फियर' तथा 'दि भ्वाइस अफ होप' आफ्ना छोरा छोरी लगाएत इस्टमित्रका छोराहरुलाई मेरो प्रमुख उपहार हुने गर्थ्यो । सत्ताको रापताप पाउनका निमित्त तिनले गरेको संझौतालाई मानवताका विरुद्ध धोका भन्ने मेरो निर्कौल छ । त्यसकारण तिनलाई दिएको नोबल पुरस्कार फिर्ता मागिनु पर्दछ भन्ने विश्वास गर्नेहरुको पंक्तिमा आफुलाई सगर्व उभियाउँदछु । आफुले सम्मान गरेको आदर्श व्यक्ति ढोंगी तथा शक्ति पिपासुमा परिणत भएको पाउँदा दुख भन्दा पनि आफुप्रति ठुलो बिश्वासधात भएको अनुभव हुन्छ । 


युवा अवस्थामा त्रिभुवन नकआउट च्यालेन्ज फुटबल खेल दशरथ रंगशालामा आयोजना गरिने गरिन्थ्योे । प्रतिस्पर्दाका निमित्त दशरथ रंगशालामा भुटानको टिम पनि आइपुग्दै थियो । उक्त टिम भुटानी भने पनि अधिकांश खेलाडीहरु नेपाली भाषा भाषी हुने गर्थे । खेलाडीहरु अनुशासित तथा उच्चस्तरका हुने हुँदा भुटानीहरुको समर्थनमा म चिच्याई चिच्याई कराउने गर्थे ।  ‘वकअप खडे बस्नेत’ भुटानी टिमको समर्थन गरे बापत एकपटक मैले झन्डै स्थानीय टिम समर्थकको कुटाइ खाएको थिए । 


भुटानका राजाको अती नजिक रहेर काम गरेका टेकनाथ रिजाल आकर्षित भएर नेपालमा शरण लिएका र तिनलाई रातारात गरेरे श्री ५ को सरकारको सुरक्षाकर्मीहरुले भुटानलाई सुम्पिएको घटना । यो घटनाले मलाई अत्यन्त आक्रोशित तुल्याएको थियो । पंचायतको उत्सर्ग कालखण्डमा घटेको हो त्यो राष्ट्रिय लज्जाबोधको घटना । त्यस पश्च्यात रिजाललाई भुटानी सरकारले अति नै निर्दही तल्लो स्तर अमानविय व्यवहार गरेर १५ बर्ष भन्दा लामो अवधीसम्म कैद गर्यो । नेलसन मण्डेलाको वर्णन गर्नेहरुको जमात थियो तर टेकनाथ रिजालको बारेमा उठान गर्नेहरु बिरलै भेटिन्थे । अन्यथा एसियाको मण्डेला हुन् रिजाल ।  


श्रीलंकाको राजधानी कोलोम्बोमा युएनसंग आबद्ध भएर काम गर्दै गर्दा घर बिदामा हुँदा इलाम जाने रहर लाग्यो । मोरङबाट झापा प्रवेश गरेपछि माईधार खोलाको किनारामा केही अनौठो नेपालीहरु देखा परे । उनीहरु अस्थाई छाप्रो निर्माण गरेर बसोबास गरेको देख्दा पहाडबाट मधेश झरेका सुकुम्बासी हुन् कि भन्ने लाग्यो ।  सवारी चालकलाई पहाडबाट बसाईसराइ गर्ने मानिसहरु हुन् उनीहरु भनेर सोध्दा उनले भुटानी शरणार्थी भएको बताए ।

 

श्रीलंका फिर्ता गएपछि यस बिषयमा आफ्नो हाकिमलाई वर्णन गरे तिनले केन्द्रीय कार्यालय स्थित डेस्क प्रमुखसंग कुरा गर्न सुझाए । केही समयपछि संयुक्त राष्ट्रसंघिय शरणार्थी आयोगले मलाई यहाँको वस्तु स्थितीको अध्ययन गर्ने अवसर दियो । त्यस क्रममा स्व. चक्रप्रसाद बास्तोलाको सहयोगमा भुटानमा असुरक्षित भएर नेपाल पसेको केहि त्यहाँका उच्चस्तरीय सरकारी कर्मचारीहरुसंग पनि भेट भयो । भुटानी शरणार्थीहरुलाई भेट गर्न मोरंङ तथा झापा पुगे । त्यस कालखण्डमा  पाँच सात हजारको संख्यामा शरणार्थी नेपाल भित्रिएका थिए । तीमध्य सम्पन्नहरु शहरी क्षेत्रका आफन्तहरु कहाँ शरण लिएर बसेका थिए अधिकांश बिपन्नहरु चाँही खाली जमिनमा छाप्रोमा जीवन व्यतित गर्दै थिए ।


संयुक्त राष्ट्र संघयी शरणर्थी आयोगले दुईपटक मलाई नेपालमा आएका भुटानी शरणार्थीहरुको सहयोग कार्यक्रम तर्जुमा गर्न खटाइको थियो । उक्त अवसरमा धेरै शरणार्थीहरुसंग अन्तरक्रिया गर्ने अवसर पाए । दक्षिण भेगमा सदियौंदेखी बसोबास गर्दै आएका नेपाली भाषीहरुलाई भारत सरकारको अप्रत्यक्ष आर्शिवाद पाएर भुटानी सरकारले नेपालतर्फ लखेटेको थियो । आसमका बिद्रोहीहरु जसले भुटानमा शरण लिएका थिए नेपाली भाषाभाषीहरुलाई लखेट्न, तिनीहरुको सहयोग लिएको थियो । भुटान सरकारलाई आफ्नो नागरिकहरु फिर्ता हुन दिन अन्तरराष्ट्रिय दबाब परेको थियो तर त्यस्ता दबाबहरुलाई भारत सरकारले थेगी दियो ।

 

यहाँसम्म कि भारत सरकारका पुर्व परराष्ट्रमन्त्री तथा राष्ट्रपति प्रणव मुखर्जीले भुटानीहरु घर फर्के भने दक्षिण एशियाको ‘डिमोग्राफिक’ सन्तुलन खलबल हुन्छ भन्न भ्याए । भुटानी शरणार्थीहरुलाई उनीहरुको जन्मभुमिमा फर्काउन असमर्थ भएका दातृ राष्ट्रहरुले उनीहरुलाई अनिश्चितकालसम्म नेपाल स्थीत शरणर्थी सिविहरुमा सहयोग दिनुको बिकल्प आफनो मुलुकमा सरण दिनु सहज ठाने । एकलाख भन्दा बढी शरणार्थीहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपका केही मुलुकहरुमा बसोबास गर्न पुगेका पनि छन् । बाँकि दशहजार अलपत्र अवस्थामा छन । तीनलाई समेत फर्कन दिन भुटान तयार भएको छैन । 


भुटान विश्वको अग्रिम पर्यटकीय गन्तव्य घोषित भएको छ । म्यानमार जान मानिसहरु लालयित हुने गर्दछन् । म भने यी दुवै मुलुकहरु जसले अन्तरराष्ट्रिय कानुनको नग्न उलंङघन गर्दा पनि छुट पाएका छन् । आफ्नै नागरिकहरुलाई निस्काशन गरे बापत ती मुलुकहरुमा खुट्टा नटेक्ने प्रण गरेको छु । मेरो अडान व्यक्तिगत हो । मलाई थाहा छ मेरो अडानको कुनै मुल्य छैन तर पनि आफ्नै नागरिकहरुलाई तिनीहरुको रुपरंग अझ भनौ पृथक पहिचान भएकै कारणले गर्दा निस्काशन गर्ने मुलुकमा म किन खुट्टा टेकेर आफ्नो मुल्य मान्यताको सौदा गरौं ?


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार