• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

उपत्यकामा वायु प्रदूषणको चाप घटाउन चुनौती,भित्री सडकमा समस्या

काठमाडौं । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

 

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

 

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ ।

 

“इटालीबाट ल्याइएका ती बु्रमरले सुरुसुरुमा राजधानीका सडकबाट दैनिक १८ मेट्रिक टनसम्म धुलो उठाउँथे”, महानगरको वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले थप्नुभयो, “अहिले दिनको मुस्किलले सात टन धुलो उठ्छ । ” उहाँका अनुसार अहिले चीनबाट ल्याइएका थप दुई बु्रमरसमेत गरी सातवटा बु्रमर राजधानीका सडकमा परिचालन गरिएका छन् ।


“धुलोका कारण सडकमा अब मास्क लगाएर हिँड्नु नपर्ने भएको छ”, उहाँले थप्नुभयो, “सडक सफा र हेर्नलायक बनेको छ । त्यसलाई कायम राख्न सक्रिय छौँ । ” चाबहिलदेखि पूर्वका सडक मर्मतकै क्रममा रहेकाले त्यहाँको धुलो उठाउन नसकिएको उहाँले बताउनुभयो । चाबहिल चोकदेखि वारि र चक्रपथ वरपर बु्रमर चलाउने गरिएको छ । उहाँका अनुसार मेलम्ची र ढल निर्माणले बिगारेको सडक र निर्माण सामग्री थुपारिएको सडकको धुलो अझै चुनौती बनेको छ ।


महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राजधानीका सडकलाई महानगरपालिकाले पाँचवटा रुटमा विभाजित गरी बु्रमरबाट सफाइ गरिरहेको छ । बु्रमरले राति सफाइ गर्दै छ ।

 

भित्री सडकमा समस्या

राजधानीका मुख्य सडक चिल्लो बनिरहँदा भित्री र सहायक सडकको अवस्था सुधार्न नसकिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “जहाँ सडक कालोपत्रे भएका छन् र बु्रमर सजिलै जान सक्छ, त्यहाँ सफा राख्न सक्दो प्रयास गरिरहेका छौँ”, उहाँले स्पष्ट पार्नुभयो, “तर भित्री र कच्ची सडकको धुलोको अवस्था उस्तै छ । ”उहाँका अनुसार पर्यटक बस्ने र रमाउने ठमेल क्षेत्रमा बु्रमर हरेक दिनजसो नै परिचालन गरिएको छ । ठूला सवारी आवागमन रोकेसँगै बु्रमरको सफाइले ठमेलको चमक बढ्दै गएको उहाँको दाबी छ ।

 

“बु्रमरको सरसफाइ चलिरहँदा निर्माण कार्य गरिरहेका अन्य निकायले भने लापरबाही गरिदिन्छन्”, उहाँले थप्नुभयो, “यसले गर्दा मुख्य सडकका केही स्थानमा जति सफा गरे पनि धुलो देखिने गरेको छ । ” धरहरा, थापाथलीमा नेपाल राष्ट्र बैङ्क भवनलगायतका निर्माण परियोजनाले आफ्ना निर्माण क्षेत्रमा धुलो घटाउने काम गरिदिए धेरै सहज हुने उहाँको भनाइ छ ।

 

प्रदूषण घटाउन चुनौती

राजधानी उपत्यकामा वायु प्रदूषणको चाप घटाउन पनि चुनौती देखिएको छ । देशभरको प्रदूषण मापन, अनुगमन र न्यूनीकरणमा सक्रिय रहेको वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले राजधानीको वायु प्रदूषणको अवस्था सन्तोषजनक नभएको जनाएको छ । बु्रमरको सफाइले सडक पहिलेभन्दा सफा र धुलोरहित बन्दै गएको छ तर सवारी साधनको धुवाँ, इँटाभट्टाको धुलो, उद्योग कलकारखानाको धुवाँ, खेतबारीको घाँस पराल बाल्दा, फोहोर बाल्दा र निर्माणकार्यले उत्पन्न गरेका धुलोको अवस्था भने यथावत् रहेको विभागले जनाएको छ ।

 

राजधानीमा हानिकारक धुलोका कण पीएम २।५ को समस्या बढी रहेको वातावरण निरीक्षक गोविन्द लामिछानेले बताउनुभयो । नेपालको मापदण्डअनुसार पीएम २।५ मा धुलोको घनत्व ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि उक्लेमा वायु प्रदूषित भएको मानिन्छ । प्रदूषण मापन गर्न १९ वटा स्टेसन स्थापना गरिएको छ । राजधानीमा मात्र छवटा स्टेसन छन् । रत्नपार्क, भैँसेपाटी, भक्तपुर, शङ्खपार्क, पुल्चोक र धुलिखेलस्थित स्टेसनले राजधानीको वायु प्रदूषणको तथ्याङ्क सङ्कलन गर्छ ।

 

सन् २०१७ को नोभेम्बरमा पीएम २।५ को मापनअनुसार रत्नपार्क स्टेसनले देखाएअनुसार त्यहाँको हावामा ३०।२२ माइक्रोग्राम प्रतिघनमिटर धुलोको कण थियो । यस वर्ष नोभेम्बरको सुरुआती पाँच दिनको रेकर्ड हेर्ने हो भने पीएम २।५ अन्तर्गतको ५० माइक्रोग्राम प्रतिघनमिटर प्रदूषणको घनत्व छ ।

 

गत २४ घण्टाको अवस्था हेर्दा ४९।१३१ माइक्रोग्राम प्रतिघनमिटरमा वायु प्रदूषित भइरहेको छ । यो भनेको मानव स्वास्थ्यका लागि हानिकारक अवस्था रहेको वातावरण निरीक्षक लामिछानेले जानकारी दिनुभयो । विभागले वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना कार्यक्रमअन्तर्गत सूचना, सञ्चार तथा परिसंवादलाई तीव्रता दिएको वातावरण निरीक्षक राजेश्वर पौडेलले बताउनुभयो ।चाँदनी हमाल, गोरखापत्र  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार