• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

आजका मान्छे

आजका मान्छे,
आधुनिक र बहुआयमिक दास हुन्
जस्तो कि म– 
एउटा मालिकको शो रुमबाट किन्छु बाइक
अर्को मालिकको पम्पमा हुन्छु ग्राहक
र, कुद्छु अर्कै मालिकको सेवामा
जसले मलाई ‘जीवन निर्वाहको ज्याला’ दिन्छ

 

कुद्दा कुद्दै बाइक सडकमा,
पञ्चट हुँदै जान्छन्– मेरा उमेरका पाङग्राहरू
भर्दा भर्दै तेल पम्पमा,
रित्तिदै जान्छ– मेरो सपनाको बहिखाता
आकांक्षाको सडक नाप्दा नाप्दै
पछारिन्छु म प्रश्नहरुको जेब्राक्रसछेउ 
र, टाल्नै नसक्ने गरि च्यात्तिसकेको हुन्छ त्यसबखत 
मेरो जिन्दगीको ट्युब
बदलामा, मोटाउँदै जान्छ शो रुम
र, मुनाफाको चिल्लो सडक छेउ–
देखापर्छ अत्याधुनिक ग्यास स्टेशन

 

आजका मान्छे–
सौखिन र डिजिटल दास हुन्
जस्तो कि म,
एउटा मालिकको कारखानाबाट कमाएको पैसाले
किन्छु म अर्को मालिकको कारखानामा उत्पादित
स्मार्ट फोन र रिचार्ज कार्ड
ताकी घरबाटै बुझ्न सकुँ– बैंक एकाउन्टको रिपोर्ट
तिर्न सकुँ विजुली–पानीको बिल
र, बोल्न सकुँ घण्टौंसम्म आफन्तसित 
यस्तो कि– बोले बापतकै पैसा तिर्न
खान्छु म अर्को महिनाको जागिर
र, फेरी बोल्छु-बोलिरहन्छु 
बोल्दा बोल्दै मोबाइलमा–
गुमाउँदै जान्छु म– आफ्नै बोलीको लोली
अन्तत : लामबद्ध हुन्छु 
मन्द–लाटाहरुको ग्लोबल कन्फ्रेन्समा
मुख्य प्रायोजक अर्थात उही मोबाइल कम्पनि 
भनिरहेको हुन्छ– 
‘बोल्नु तपाईंको अधिकार हो ।’ 
आजका मान्छे–
मालिक जस्तै देखिने दिग्भ्रमित दास हुन्
जस्तोकि मेरो छिमेकी,
चढ्छ अहम्को कार
अग्ल्याउँछ दम्भको महल
कुद्दा कुद्दै कारमा
चढ्दा चढ्दै लिङ्खटमा
खियाउँदै जान्छ ऊ किस्ताबन्दी उमेर
महत्वाकांक्षाको रिन काढेर भावी सन्तानलाई
इन्द्रेणी बजारको इमान्दार क्रेता बनेर ऊ
अस्ताई जान्छ बुढो घाम झैं

 

आजका किसान त झन–
हाइब्रिड भुदास हुन्
पुर्खाहरुको आदिबासी आँगनमा
जोत्छ ऊ ‘मनसान्टो’ हलो
धान, मकै र गहुँ पठाएर बजारमा
किन्छ ऊ तयारी चाउचाउ र हर्लिक्स 
आफ्नै माटोमा फल्ने सपनाको विउ पनि अब 
किन्नुपर्छ उसले बजारबाटै   
र, त्यहाँसम्म पुग्ने द्रुतमार्ग बनाउन कै लागि 
भत्काइरहेछ ऊ आज
शताब्दियौं देखिको अग्र्यानिक आली

 

हो, आजका मान्छे
आधुनिक दास हुन्
प्रजातान्त्रिक दास हुन्
अर्थात,
स्वतन्त्र दास ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार