• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा अर्चना

काठमाडौं । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा गई नवदुर्गा भवानीको पूजा अर्चना गरेकी छन्। 

 

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन् । । राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गरेका थिए।

 

सो क्रममा राष्ट्रपति भण्डारीले मन्दिर प्राङ्गणमा नवदुर्गा नाचको समेत अवलोकन गरिन्। विगत वर्षमा राष्ट्रपतिले नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गरी फर्कने गरेकामा यस वर्ष भने नाचसमेत अवलोकन गराईएको हो ।

 

कार्यक्रममा श्री देवगण तथा मन्दिर व्यवस्थापन संस्थालाई जात्रा सञ्चालनार्थ अक्षयकोष स्थापनाका लागि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले रु १५ लाख तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले रु पाँच लाखको चेक हस्तान्तरण गरेको थियो । त्यसअवसरमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले राष्ट्रपति भण्डारीलाई तलेजुको प्रसाद प्रदान गर्दै आर्थिक अभाव र पारिश्रमिक नहुँदा तलेजुको परम्परागत पर्वहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले सरकारमार्फत सहयोग गरिदिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार