• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी,राजधानी टोक्यो अस्तव्यस्त

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने कैयौँ अरू हराइरहेका छन्।

शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ।

 

हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ।

हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो।

 

त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ।

जापानी समाचार संस्था एनएचकेका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ।

 

कति खतरनाक छ आँधी ?

 

सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ। तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन्।

जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ।

 

जेएमएले शनिवार दिउँसोदेखि आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ।
कैयौँ बुलेट ट्रेन सेवा रोकिएका छन्। टोक्योको मेट्रो सर्भिस पनि शनिवार दिनभरजसो रोकिएको थियो।

 

टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन्।

 

पश्चिम टोक्योस्थित हाचीओजी शिविरमा रहेका एक स्थानीयबासी जेम्स ब्याबले बीबीसीलाई उनको नदी किनारमा रहेको घर बग्ने खतरामा रहेको बताए।

गत महिना मात्रै टाइफुन फक्साइले जापानका केही भागमा विध्वंस मच्चाउँदा ३० हजार घरहरूमा क्षति पुगेको थियो ती मध्ये धेरै घरहरू अझ पनि मर्मत सम्भार गरिएको छैन।बीबीसी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार