• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019
अन्तर्वार्ता

'हास्यव्यङग्य भनेको हा..हा, हु..हु मात्र होइन'

चलचित्र रिलीजको संघारमा हुनुहुन्छ, डर उत्साह कस्तो छ  ?
भोलीबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुँदैछ । अहिले चलचित्र कै व्यस्ततामा छु । केही डर पनि छ र केही उत्साह । अरु सबैकुरा दर्शकको हातमा ।  
 

यो २६ वर्षमा तपाई सन्तुष्ट र असन्तुष्ट भएका कारण र त्यस्ता क्षणहरु छन् कि?
यहाँ मेरो लेभलको कलाकार पनि असन्तुष्ट भयो भने सन्तुष्ट को हुने नी । यो क्षेत्रमा सानातिना असन्तुष्टि हुने भनेको जायज कुरा हो । जहाँसम्म आफनो पेशागत सन्तुष्टि छ, त्यो त आज देशको सर्वस्व पद भनेको प्रधानमन्त्रीको हो, प्रधानमन्त्रीले नी आज हैट कस्तो दिनमा राजनीतिमा लागिए छ भनेका अवसरहरु धेरै नै होला । सम्पुर्ण सन्तुष्टि भनेको त समाप्ती नै हो । केही दुख, केही खुसी र केही पिडा तर समग्रमा आनन्द भयो भने मात्र मान्छे त्यहाँ जम्छ । मलाई लाग्छ प्रगति भएको मान्छेलाई यदि हेर्यो भने उसले त्यो क्षेत्रमा अवश्य नै रमाइलो गरेको हुन्छ । यदि उसले रमाइलो गरेन भने त्यसको प्रगति पक्कै हुदैन । एउटा नर्सले बिरामी जाच्दा हतार गरि भने त्यसको प्रगति कहिले हुदैन । 
 

तपाई समाजमा कसरी चिनिनु भएको छ, आफनो नामले मात्र कि अन्य कुराले पनि ?
कसैले मलाई खरो वक्ताको रुपमा चिन्छन् । कसैले मलाई खरो टिप्पणीकारका रुपमा चिन्छन् । कतिले यसले एकदमै व्यवहारिक कुरा गर्छ भनेर चिन्छन् । यो त हसाउँने मान्छे हो भनेर मात्र पनि चिन्छन् । यसले काम सोचेर गर्छ । यो प्रभाव जमाउन सक्ने मान्छे हो भनेर पनि चिन्छन् । कतिले मित्रको रुपमा  चिन्छन् त कतिले यो सालेको अनुहार नै हेर्न मन लागेको छैन पनि भन्छन् । थरीथरी मान्छेहरुमा मलाई हेर्ने दृष्टिकोण धेरै छ । 
 

तपाईको अभिनयबाट समाजले के पाएको छ त ?
म मेरो अभिनय मात्र भन्न चाहन्न । मैले भन्नुपर्दा मेरो कलाकारिताबाट भन्नु पर्यो । मेरो कारणले  समाजमा भयंकर परिवर्तन भयो भनेर म आफै रमाउन चाहन्न ।  म एकदमै व्यवहारिक छु र मलाई खोस्रो प्रशंसा फिटिक्कै मन पर्दैन । जुन क्षेत्रमा मैले योगदान दिएको छु त्यो क्षेत्रमा बाह्य सांस्कृतिक आक्रमण हुने ठाउँमा चाहि कमसेकम नेपाली संस्कृति नेपाली भाषालाई मर्न र घुँडा टेक्न नदिनको लागि मैले पनि अलिअलि पसिना बगाएको छु जस्तो लाग्छ । 
 

तपाईले बुझेको हास्य कलाकारिताको अर्थ के हो ? हा..हा, हु..हु मात्र त होइन नी?
हास्यमात्र भयो भने त्यो हा..हा हु..हु मात्र हो । हास्य भनेको मासु मात्र हो भने त्यसको व्यङग्य नङले छोप्नुपर्छ अनि सुरक्षित हुन्छ । नङ र मासुको सम्बन्धपछि मात्र बल्ल औंला बन्छ । हाम्रो जस्तो समाजमा तपाईहरु पत्रकारिता गर्नुहुन्छ भने हास्यव्यङग्य पनि एउटा स्वस्थकर पत्रकारिता हो जसले यस्तो हुनुपर्छ समाज भनेर भन्दैन तर यस्तो बिकृति छ भनेर प्रष्ट गरिदिन्छ । जसलाई रमाइलो पाराले प्रष्ट गरिन्छ । त्यसकारणले गर्दा यो हा..हा हु..हु मात्र नभईकन एउटा गम्भिर विषय पनि हो । म मेरो पेशालाई उच्च सम्मान गर्छु । संसारको सबैभन्दा उत्कृष्ट पेशा भनेकै हास्यव्यङग्यको पेशा हो । बिशेष गरेर नेपालमा त झन सर्वत्कृष्टै हो । अहिले मनोरञ्जनको सत प्रतिशत क्षेत्रमा उपल्वधीको हिसाबमा ७० प्रतिशत हास्यले ओगटेको छ अनिमात्र केही गित, संगित र केही मनोरञ्जनका साधनहरु र अरु होलान । 


 

हास्यव्यङग्यले समाजलाई के दियो र के पायो ?
हेर्नुस् आमाको मायाले के पाइन्छ, बाबुको मायाले के पाइन्छ । आमाको मायाले भात पाइएला भने बाबुको मायाले स्कुल फि । त्यतिमात्र हैन यहाँ अदृश्य चिजहरु धेरै छन् । अदृश्य प्राप्ति, आन्नदित सुख हो । आमासंगको वार्तालाप, बुबासंग बस्दाको सुरक्षितपन भनेको जस्तै केही तत्वहरु छन् जो अदृश्य हुन्छन् र प्राप्त भइरहेका हुन्छन् । हामीलाई सास फेर्न हावा चाहिन्छ । हावाबाट के के  पाइन्छ त्यो हामीले देखेका छैनौं । अदृश्य छ हावा । त्यसैगरी यो हास्यव्यङग्य पनि अदृश्य छ । यसले पलपलमा रमाइलो गराइरहेको हुन्छ । समाजमा पिडा छ र त्यो पिडा भएपनि हामीले हसाईदिइ रहेका छौं । भुकम्प आएर मान्छेहरु त्रसित थिए हामीले गाउँगाउँ गएर उनीहरुलाई  हसाउने प्रयास गर्‍यौं । हामीले उत्तरदायित्व वहन गरेका छौं । त्यसको प्राप्ति सिधा दृश्यको रुपमा नभएर अदृश्य रुपमा हुन्छ । 
 

अहिलेको संस्कृतिको बारेमा केही भन्नुहुन्छ कि ? 
अहिले हाम्रो देशको जुन अवस्था छ त्यो एउटा भारत र चीन बिचमा रहेको हाम्रो सानो मुलुक छ, संस्कृति, प्रस्तुति र हर हिसाबले एउटा ठुलो देशको बिचमा यती ठुलो सांस्कृतिक उपल्वधी छ । बिश्वभर उपल्वधी छ । त्यसको बिचमा हाम्रो यो भुन्टे क्षेत्र जहाँ पैसा पनि भुन्टे प्रस्तुतिकरण पनि भुन्टे र प्रविधि पनि भुन्टेले अहिले ५० केजी तौलसम्म केटोले ९० केजी मान्छेसँग कुस्ती खेलेको जस्तो छ । यो अवस्थामा पनि हाम्रो उद्योगले घुडा टेकेको छैन । 


 

एउटा व्यक्तिको जीवनमा मनोञ्जनको के अर्थ छ ? 
कसैका जीवन सम्पुर्ण मनोरञ्जन हुन्छन् भने कसैको जीवन ५० प्रतिशत मनोरञ्जनले ओगटेको हुन्छ । उसको आर्थिक अवस्था, उसको घरपरिवारको अवस्था यी सब चिजमा एउटा व्यक्तिले गर्ने मनोरञ्जनमा भर पर्छ । घरमा त्यस्तो कुनै अप्रिय घटना घट्को छ भने कोही हास्न जादैन र मनोरञ्जन गर्दैन । त्यसकारणले मनोरञ्जन भनेको एउटा यस्तो पाटो हो जसलाई सबैभन्दा पहिला मान्छेले आफनो जीवनमा राखेको हुन्छ । 
 

तपाईले दिने मनोरञ्जन कुन वर्गको लागि हो ?
सबै वर्गले हाम्रो प्रस्तुती मन पराउँछन । हाम्रो लागि खुशीको कुरा के छ भने दिपक—दिपाको टिमलाई बच्चादेखि बुढासम्मले माया गरेका छन् । त्यसकारणले हामीले मनोरञ्जन दिने एउटा वर्ग मात्र छैन । सबै वर्गले हामीलाई माया गर्छन । हामी युवाहरुमा अझ बढि जम्ने कोशिस गरिरहेका छौं ।  


तपाईको चलचित्रमा धैरै राजनीति बिषयबस्तु र नेतालाई  घोचपेच गर्नुहुन्छ, साच्चै हाम्रो देशमा खराब नेताहरु मात्र छन् र ? राम्रा पनि त होलान् नी ?
हामीले त्यस्तो पनि भनेका छैनौ ।  एउटा कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री गगन थापा जी र म अतिथीका रुपमा परेका थियौं । थापा जी ले मलाई भन्नुभयो कि हाम्रा राम्रा कुराहरु पनि देखाईदिनु पर्‍यो । मैले उहाँलाई भने तपाई बाहेक अरु नेताहरुलाई पनि राम्रो काम गर्देउ भन्नु न । हामी राजनीति सुध्रियोस् भन्ने चाहन्छौं । हाम्रो कार्यक्रममा नेताहरुका राम्रा कुराहरु पनि देखाइएका हुन्छन् । 

 

प्रस्तुति : सुकृत नेपाल


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार