• शुक्रबार ८-६-२०७६/Friday 11-22-2019
मनोरञ्जन

चलचित्र छायाँकन : पहिले र अहिले 

 -सुकृत नेपाल  

     काठमाडौं ।   चलचित्र  ‘ट्रक ड्राइभर’को छायाँकन चलिरहेको थियो । 


    ‘लाइट, क्यामरा, एक्सन...’, निर्देशक  अशोक शर्मा चिच्याए । 


    नायक शिव श्रेष्ठको क्लोज अप शट खिच्न थालियो, जसमा नायकले केही संवाद बोल्नुपर्‍थ्यो ।

 
    ‘कट...कट..कट...’, निर्देशक शर्मा कराए, ‘भएन शिवजी, डाइलग डेलिभरी नै मिलेन...’


त्यही दृश्यको फेरी छायांकन गर्न थालियो । नायकले फेरि पनि संवाद बोल्दा गल्ती गरे । त्यो समयमा एकचोटी होइन दुईचोटी होइन, शिवले डाइलग बोल्न नसकेर त्यो दृश्यका लागि २८ पटक सम्म टेक दिनुपर्‍यो ।


चलचित्र ‘भुमरी’ को छायांकनका क्रममा अभिनेतृ लक्ष्मी गिरिको नाकमै झिँगा आएर बसेछ । झिँगाका कारण निर्देशक चेतन कार्कीले त्यो टेक ओके गरेनन् । फेरि अर्को टेक लिँदा क्यामेरा हल्लियो । त्यो टेक पनि ओके भएन । तीन पटकसम्म टेक दिँदा पनि ओके हुन नसकेपछि कलाकार गिरीको मन खल्लो भएको थियो । चौथौ पटकमा मात्र टेक ओके भयो ।


निर्देशक अशोक शर्माका अनुसार, एउटै दृश्यका लागि पटक–पटक टेक लिनुपर्दा आफुभन्दा बढी निर्माता चिन्तित हुन्थे । अहिलेको जस्तो डिजिटल प्रविधिको युग हुन्थ्यो भने २८ त के सयौं टेक लिनुपरे पनि निर्माता/निर्देशकलाई चिन्ता हुँदैनथ्यो । तर त्यो बेलाजति पटक टेक लियो, त्यति रिल  (नेगेटीभ)  खर्च हुन्थ्यो, जसले निर्माताको बजेट बढाइ दिन्थ्यो । जसरी त्यो बेला फोटो खिच्दा हरेक ‘क्लीक’मा रिल खर्च हुन्थ्यो, ठीक त्यसैगरी हरेक टेकमा नेगेटिभ खेर जाने भएकाले चलचित्र निर्माणको खर्च नबढोस भनेर कलाकारहरु आफ्नो दृश्यको अभिनय र संवाद कण्ठस्थ पारेर आउँथे । हरेकसिनको रिहर्सल गरेर आउँथे ।

 
निर्देशक दिपक श्रेष्ठका अनुसार नायिका करिश्मा मानन्धर सबैभन्दा खर्चालु अर्थात धेरै टेक दिने नायिका हुन् । चलचित्र ‘पापी मान्छे’ मा एउटा संवादलाई सरर्र बोल्न नसक्दा करिश्माले ८ पटकसम्म टेक दिएको दिपक सम्झन्छन् ।  ‘करिश्माले आफ्नो संवादलाई सजिलै समात्न सकिनन्’, निर्देशक श्रेष्ठ भन्छन् । 


कलाकार बसुन्धरा भुषाल पनि धेरै टेक दिने कलाकार नै रहेको श्रेष्ठको दावी छ । ‘उहाँलाई एउटा संवाद बोल्न दिइन्थ्यो, तर त्यो संवादमा उहाँ आफ्नै कुरा थपेर बोल्नुहुन्थ्यो । यसले गर्दा पनि उहाँलाई धेरै पटक रिटेक गराउनुपर्थ्यो’, श्रेष्ठ भन्छन् । चलचित्र फिल्म ‘पापी मान्छे’ मै हाँस्यकलाकार किरण केसीलाई एउटा गीतको बोल कण्ठ नहुँदा ठूलो कागजमा लेखेर क्यामेरा सँगसँगै लगेर सुटिङ गराउनु परेको श्रेष्ठ सम्झन्छन् । 


सुटिङमा टेकखानु खासै ठुलो कुरा मान्दिनन्, नायिका करिश्मा मान्नधर । टेक धेरै पटक टेक दिनुको कारण क्यामेराको टाइमिङ भएको करिश्माको दावी छ । कति टेक दिने भन्ने कुरा कलाकारको मूडमा पनि भरपर्छ । ‘सुटिङकै बेला कलाकारको मूड ठीक नभएको पनि हुनसक्छ । त्यस्तो बेला रिटेक हुनु सामान्य कुरा हो’, करिश्मा भन्छिन् ।
    

पटक–पटक टेक दिँदा कलाकारलाई त केही फरक पर्दैैनथ्यो, तर हरेक टेकमा निर्माताको खर्चसँगै रक्तचाप बढ्थ्यो । 

 

क्यानयुग
कुनैबेला नेपालमा वर्षमा दुईवटा चलचित्र बन्थे । पंचायतकालमा चलचित्र बनाउने काम सरकारले नै गर्‍थ्यो । राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगत प्रचार–प्रसार डिभिजन नै कालान्तरमा शाही नेपाल चलचित्र संस्थान भयो । त्यसले ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’, ‘माया’, ‘शान्तिदीप’ आदि चलचित्र बनायो । २०३९ सालमा पहिलो पटक नीजि क्षेत्रलाई चलचित्र निर्माणका लागि अनुमती दिइयो । त्रि–ओम प्रोडक्सन, हेम्ज एक्सपेरिमेन्टल मुभिज, सुजाता फिल्मस् र सयपत्री मुभिजको उदय भयो । तर तिनले पनि चलचित्र बनाउन शाही नेपाल चलचित्र संस्थान कै अनुमती लिनुपर्न प्रावधान थियो । चलचित्रका लागि चाहिने कच्चा पदार्थ मगाउन ठूलो झमेला थियो ।


निर्देशक प्रकाश सायमीका अनुसार संचार मन्त्रालयको श्रव्य–दृश्य शाखाबाट चलचित्रको कुनै ज्ञान नभएका कर्मचारीले पटकथा, संवाद पढ्थे र ‘६० क्यान (रिल) उपलब्ध गराउनु’ भनेर तोक लगाउँथे । ६० क्यानभन्दा बढी चाहियो भने दरबारकै सोर्स चाहिन्थ्यो । दरबारसँग निकट हुनेहरु सिँगापुरबाट क्यान मगाउन पाउँथे । त्यो बेला एलसी खोलेर भारत, सिँगापुर र थाइल्याण्डबाट रिल मगाउनु पर्‍थ्यो । सोहीकारण चलचित्र छायांकनका बेला कलाकारहरु सकेसम्म धेरै क्यान खर्च नहोस् भनेर सजग हुनुपर्‍थ्यो ।


पहिले फिल्म पढेर आउने एकदमै कम थिए । त्यसले गर्दा पनि सुटिङको रिहर्सल नगरी कलाकारलाई सुखै थिएन । अहिले फिल्म पढेर आएका धेरै छन् । ‘हामीले फिल्म बनाउँदा नभएका कुराहरुलाई पनि हो जस्तो मानेर बनाउनु पर्ने हुन्थ्यो तर अहिले फिल्म रियालिटीमा बन्न थालेको छ’, निर्देशक शर्मा भन्छन् ।

 

डिजिटल युग
अब रहेन, त्यो सेलुलाइड चलचित्रको जमाना । छायाँकनमा नेगेटिभको उपयोग गर्ने चलन पनि हरायो । डिजिटल क्यामेराको जमाना आयो । फोटो खिच्दा रिल किनेर हाल्ने चलन हरायो, ठीक त्यसैगरी चलचित्र छायाँकन गर्दा क्यान (रिल) खर्च हुने र बम्बईमा धुलाई गरेर ल्याएको प्रिन्टबाट चलचित्र प्रदर्शन गर्ने चलन पनि हरायो । ‘सेलुलाइडमा भन्दा डिजीटलमा सुटिङ गर्न सजिलो हुँदो रहेछ । पहिले रिर्हसल गरिन्थ्यो, त्यतिगर्दा पनि रिटेक धेरै चोटि हुन्थ्यो । अब डिजिटलमा त्यस्तो समस्या छैन’, नायिका करिश्मा भन्छीन् ।


आजको डिजिटल प्रविधिले भने चलचित्र छायांकनलाई सजिलो बनाइदिएको छ । ‘पहिले सेलुलाइडको चलन थियो, रिहर्सल नगरी सुटिङ गर्न निकै गाह्रो हुन्थ्यो । हामीले नेगेटिभ कमखर्च होस् भनेर काम गर्नुपथ्र्यो । अहिले डिजिटल प्रविधि आएको छ, छायाँकनमा ती सबै समस्या छैनन्’, निर्देशक शर्मा भन्छन् । 


 एउटा यस्तो समय थियो, सुटिङ गर्दा सबै कुरा अनुशासित ढंगबाट हुने गथ्र्यो । अहिले समय बदलिएको बताउँछन्, अभिनेता देशभक्त खनाल  । ‘अहिले डिजिटलमा टेक खानै पर्दैन । सबै कुरा एडिटिङबाटै हुन्छ । चलचित्र ‘पिँजडा’ मा सुशिला रायमाझीको छोरी प्रशिद्धिका रायमाझीले पाँच–पाँच पटक टेक लिएको स्मरण गर्दै खनाल भन्छन्, ‘कलाकारहरुले सिन नै बुझ्न नखोज्दा पटक पटक टेक लिनुपथ्र्यो र निर्माताको पैसा खर्च हुन्थ्यो, अहिले त्यो समस्या छैन ।’ 


 पहिलो धेरैजसो टेक ओके नहुनुमा प्राविधिक कारण पनि जिम्मेवार थियो । ‘अहिले डिजिटल युगमा कसले कति टेक लिन्छ भन्ने कुराको गन्ती हुँदैन’, निर्देशक रामबाबु गुरुङ  भन्छन् । उनका अनुसार कहिले काहीँ लाईटको कारण टेक रिपिट गर्नुपर्ने हुन्छ तर यो पनि एकदमै कम मात्रामा । ‘अहिले टेक ओके भएन भने पनि त्यसैलाई सम्पादन गरेर मिलाउन सकिन्छ’, उनी भन्छन् । 

 

लाइट र मेकअप
चलचित्र छायाँकनका क्रममा मुख्यपक्ष भनेको लाइट र मेकअप हुन् । पहिला लाइटका लागि रिफ्लेक्टर र अन्य बत्तीहरुको धेरै आवश्यकता पथ्र्यो । अचेल क्यामेरामा पनि प्रकाश सन्तुलन गर्ने प्रविधि आएको छ भने सम्पादनका क्रममा पनि लाइटको सन्तुलन कायम गर्न सकिन्छ । 


पहिला जस्तो अहिले सुटिङमा खासै रमाइलो नहुने लाईटम्यान राजु तामाङ (लामा) को अनुभव छ । लाइटम्यानले गर्दा कलाकारहरुले धेरै टेक लिनु परेको भन्ने अरोप सँग उनी सहमत छैनन् । ‘सुटिङको समयमा सामान नै पुरा हुँदैन अनि हामीले के गर्ने ? अर्को कुरा सुटिङमा टेक हुँदाहँदै काम नभएर बस्नेहरु यताउता गर्छन् । यसले पनि टेकमा समस्या आउँछ’, तामाङ भन्छन् । पहिले सुुटिङमा लाइटम्यानसँग व्यवहार गर्ने गरिए पनि अचेल अलिकति ढिला हुँदा निर्देशक र कलाकारले आफूहरुलाई गाली गर्ने गरेको तीतो अनुभव पोख्छन्, तामाङ । ‘त्यहि सुटिङमा कलाकार ढिला हुँदा केही नहुने तर हामीलाई भने गाली गर्ने ?’, तामाङको गुनासो छ ।


छायाँकनको अर्को महत्वपूर्ण पाटो मेकअप हो । अहिलेका कलाकारले काम भन्दा धेरै नखरा गर्ने गरेको बताउँछन्, मेकअपमेन श्याम बराल । ‘सुटिङमा आउँछन् चुरोट, गाँजा तान्छन् र अभिनय गर्न थाल्छन्’, बरालको दावी छ । नेपाली कलाकारहरु बिदेशी स्टाइलको मेकअप खोज्ने गरेको, तर त्यस अनुसारको सामग्री उपलब्ध नभएको उनको अनुभव छ । ‘बिदेशीको जस्तो श्रृंगार खोज्नेले त सामान पनि त राम्रो दिनुप¥यो नि’, उनी भन्छन् । कतिकलाकारले त आफ्नै मेकअप किट लिएर आउने गरेको पनि बरालको अनुभव छ । बरालका अनुसार जति राम्रो मेकअप गरे पनि कामको जस नदिने नायिका चाहीँ नम्रता श्रेष्ठ हुन् रे । 

 

फाइटको फण्डा 
चलचित्रको अर्को अभिन्न अंग हो फाइट । फाइटकै लागि भनेर फिल्म हेर्ने दर्शक धेरै छन् । तर फाइट भित्रको व्यथाबारे भने थोरैलाई मात्र थाहा छ । पुराना कलाकारलाई भन्दा नव प्रवेशीलाई फाइट सिकाउन धेरै गाह्रो हुने द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ बताउँछन् । सुटिङको बेला फाइटमा सबैभन्दा धेरै टेक लिने कलाकार सरोज खनाल रहेको पनि श्रेष्ठ बताउँछन् । ‘खनाललाई जति फाइट सिकाए पनि कुनै अर्थ लाग्दैन’, उनी भन्छन् । चलचित्र ‘परिभाषा’मा किक हान्नु पर्ने दृश्यमा खनालले अन्यथा गर्दा उनको ८ पटकसम्म टेक लिनु परेको श्रेष्ठ सम्झन्छन् ।


फाइटमा धेरै पटक टेक दिनुपर्ने अर्का नायक हुन राजेश हमाल । फिल्म ‘मनको टुक्रा’ मा क्लाइमेक्सको सिन गर्दा ६ पटकसम्म टेक दिएको श्रेष्ठ बताउँछन् । उनको अनुभवमा भुवन केसी, निखिल उप्रेती, शिव श्रेष्ठ फाइटका लागि एकदमै सजिला कलाकार हुन । 
    
    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार