• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

निवर्तमान सभामुख महरा पक्राउ, मुद्दाको सुनुवाइ २८ गते

काठमाडौं । यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

 

जिल्ला अदालत काठमाडौंको अनुमति लिएर प्रहरीले महरालाई आइतबार उनकै निवासबाट पक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ परेका हुन।

 

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

 

घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो । 

 

दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो । २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन्छ।

 

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवाना सहित तीन बर्ष कैद हुन सक्नेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार