• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019
देश/प्रदेश

दशैंको नौं आकर्षण 

फ्रेसन्युज संवाददाता, काठमाडौं । हिन्दुहरुको महान चाड दशैं मनाउने आ–आफ्नै तौर तरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैं मनाउने भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् । तर पनि जात–जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन् । यद्यपी दशैंका विशेषता र आकर्षणहरु भने एउटै र उस्तै छन् ।

 

दशैं पर्व मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ । शरद ऋतु भएकाले यतिबेलाको समय घमाइलो मानिन्छ । बर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दशैंलाई उल्लासका साथ मनाउने प्रचलन छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्ंजन गर्ने फुर्सदिलो क्षण दशैंलाई मानिन्छ । नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दशैंले नै प्रदान गर्दछ । तर दशैंको विशेषता र आकर्षणले भने सबै हिन्दुहरुलाई प्रफुल्लित बनाउने गर्छ । त्यस्ता केही विशेषताहरुको यहाँ चर्चा गरिएको छ ।

 

मालाश्री धुन

 

गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दशैं आएको छनक पाइन्छ । घटस्थापनका दिनदेखि रेडियो, टिभीमा यो धुन बज्ने भएकाले वातावरण मनमोहक बनाउँछ । सितार, तानपुरा र तबलालगायतका बाजाहरूको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ । त्यसबाहेक पञ्चेबाजा, मादल, सारंगी, मुरली लगायतका बाजाहरुबाट पनि मालाश्री धुन निकाल्ने प्रचनल छ । वास्तवमा मालाश्री धुनलाई दशैं धुन पनि भनिन्छ । दशैंमा देवीको पुजा गरिने भएकाले देवीको गुनगानका लागि यो धुन बजाउने गरिएको ऐतिहासिक मान्यता रहेको छ ।
 

 

पिङ्ग 

 

गाउँ घरतिरमात्र होइन शहरबजार तिर पनि दशैं आउनुपूर्व नै पिङ्ग लगाउने चलन बढ्न थालेको छ । गाउँघरतिर पाखाबारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पाएक पर्ने स्थानमा लिङ्गे पिङ लगाउने चलन छ । हिजोआज शहरतिर पनि पैसा उठाएर पिङ लगाउने चलन बढेको छ । विजयादशमीको दिन मान्यजनको हातको टिका लगाएर केहीक्षण भएपनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ । पहिले पहिले काठको रोटेपिङ हाल्ने चलन रहेपनि हाल भने यो विस्तारै लोप हुन थालेको छ ।
 

 

चंगा चेट

 

दशैंमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । विशेष गरेर शहर बजारमा चङ्गा उडाएर दशैंको धुमधाम स्वागत गरिन्छ । पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चङ्गा उडाइथ्यो । खुल्ला चौर, कौशी तथा घरको छतमा उभिएर चङ्गा चेटको मज्जा लिने चलन छ । उहिले भन्दा अहिले चङ्गा उढाउने प्रचलन बढ्दै गएको छ । शरद ऋतुको सुरुवातीमा पश्चिबाट सरर हावा चल्ने भएको हुँदा चाडबाडको मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ । दशैंका बेला चंगा उढाउने प्रतियोगिता नै हुन्छ । उहिले आकाशमा चंगा उडायो भने वरुण देवताले पानी पार्छन र धान विग्रन्छ भनेर बुढापाकाले उढाउन दिदैन थिए । यद्यपी, दशैंको मौसम उपयुक्त हुने भएकाले रमाइलोका लागि चंगा उढाउने चलन चलेको मानिन्छ ।  

 

किम्बदन्ती अनुसार उसबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङ्ग सम्म पुग्दथ्यो । केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सुचना प्रवाह गर्न चङ्गामा लेखेर पठाइथ्यो । नेपालबाट उढाएको चङ्गा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो । संचारको विकास नभएका कारण चङ्गाको माध्यमले सुचना आदनप्रदान गरिन्थ्यो । उसबेला हस्तकलामा निपूर्ण व्यक्तिहरुले बाँसका पातलो सुइराहरुमा नेपाली कागजमा टाँसेर चङ्गा बनाउँथे । नेपाली कागजमा सुचना लेख्न पनि सजिलो हुन्थ्यो ।
 

 

नयाँ लुगा

 

दशैंमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर टेलर्सका सिलाउन दिने होडबाजी नै चल्छ । बर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दशैंमा नै नयाँ लुगा किन्ने प्रचलन रहीआएको बताइन्छ । बालबालिकाहरुलाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ । त्यसैले दशैंको समयमा नयाँ कपडाहरुको बजार चम्किन्छ ।


मार हान्ने र बली चढाउने

 

दशैंमा खसीबोका, भेडा च्याङग्राको बजार खुबै चम्किन्छ । किनकी बडौं दशैंको नवौं दिन आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजाआजा गरी बली दिने चलन छ । कतिपयले यसैदिनलाई मार हान्ने दिनका रुपमा पनि स्विकारिन्छ

 

दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एव देवीस्तोत्र पाठ गरिन्छ । पशुबली नदिनेहरूले कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई चढाउँछन् । तर प्रायजसो महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । घरमा मार हानेपछि मासुको परिकार बनाएर परिवारमा रमाइलो गर्दै खाने गरिन्छ । किनकी मांशाहारीहरुले दशैंमा मासु अनिबार्य मान्ने गर्छन् । 
 

 

दक्षिणा र आर्शिवाद

 

दशैमा मान्यजन र आफन्तहरुकामा पुगेर टिका लगाउने चलन छ । टिका लगाउँदा आर्शिवाद दिने गरिन्छ । टिका लगाउँदा दिने आर्शिवाद दशैंको भिन्नै हुन्छ । मान्यजनहरूले संस्कृत भाषामा भएको ‘आयुद्रोणसुते...’ भट्याएर उमेर र पेशाअनुसारको आशीर्वाद दिने गरिन्छ । टिका जमरा र आर्शिवादसँगै मावली, बुढो मावली, ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महत्व पनि ठूलै हुन्छ । टिका ग्रहण गर्न जानेहरुले साथमा फलफुल, मिठाइ, कपडालगायतको कोशेली लाने चलन छ । त्यसैले दशैंमा नयाँ नोट सटहीका लागि बैंकहरुले समय र सिमा नै निर्धारण गर्ने गर्छन् । 
 

 

रातो टिका र जमरा

 

दशैंमा रातो टिका लगाउने र जमरा सिउरिने चलन छ । टिका र जमरा दशैंको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपुर्वक राखीएको जमरा टिपेर रातो टिकाका साथ लगाउने गरिन्छ । टिका र जमरा अन्नवाट बनिने र दही पशुपालनको प्रतिक भएकोले यसलाई अहिले बैज्ञानिक ढंगवाट कृषि उपजको परिचय गराउने पर्वको रुपमा लिइने गरेको छ । मान्यजनले टीका लगाइदिदा सुख, शान्ति, समद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

 

परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्ब र आफन्तजनसग समेत टीका लगाउन जाने परम्परा छ । यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिशासुरहरुको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रुप धारण गरेर उनिहरुलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजय दशमीमा रातो टिका र जमरा लगाएको पौराणीक मान्यता छ ।
 

 

सेतो टिका

 

दशैंमा कतिपय आदिवासी जनजाती समुदायभित्र सेतो टिका र जमरा लगाउने प्रचलन छ । आदिवासी जनजातिहरुको हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टिका लगाउने चलन भएकाले दशैंमा सेतै टिका लगाउने परम्परा छ । कतिपय आदिबासीहरुले दशैंका दिन नै आफ्नो अधिकार खोसिएकाले रातो टिका बहिस्कार गरेर सेतो लगाउन थालिएको बताएका छन् । यद्यपी, पशुपालन र कृषी पेशा गरेर बस्ने पहाडी मुलका आदिवासी जनजातिहरुले परापूर्व कालदेखि नै दहीमा चामल मुछेर सेतो टिका लगाउने चलन चलाएको भनाइ पनि छ । सेतो टिकासँग पहँलो जमरा लगाउने चलन छ ।
 

 

भेटघाट र रमाइलो खेल

 

चाडपर्व भेटघाट गर्ने सुनौलो अवसर हो । दशैं भेटघाट जुराउने उपयुक्त अवसर हो । विभिन्न देश तथा टाढा टाढा रहेका मानिसहरु दशैंमा फर्किने चलन छ । आफ्ना विभिन्न ब्यतताहरुलाई मिलाएर दशैंको छेकोमा हिन्दुहरु गाउँघर फर्कने गर्छन । त्यसैले दशैं भेटघाटको रमाइलो अवसर पनि हो । दशैंमा तास तथा लंगुरपुर्जा खेलेर रमाइलो गर्ने चलन छ । संगठित रुपमा जुवा तास खेल्न प्रतिबन्ध रहे पनि आफन्त र साथीहरु मिलेर रमाइलोका लागि दशैंमा तास अनिवार्य जस्तै भएको छ । अन्य रमाइला खेलहरु पनि दशैमा विशेष आयोजना गर्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार