• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

राष्ट्रपति सीको नेपाल भ्रमणलाई सफल बनाउन सरकारले उच्चस्तरको तयारी गर्नुपर्छ : कोइराला

 

काठमाडौं। नेपाल र मित्रराष्ट्र चीनबीचको सम्बन्ध प्राचीन कालदेखि नै सुमधुर रहँदै आएको छ । व्यापारिक तथा जनस्तरमा मात्र सीमित नभई यी दुवै देशबीचको सम्बन्ध सरकार स्तरमा पनि सबल र सुदृढ रहँदै आएको छ । चीन र नेपालबीचको आधुनिक सम्बन्धको चर्चा गर्दा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चीनको औपचारिक भ्रमण ऐतिहासिक र उच्चस्तरको रहेको थियो । बीपीको चीन भ्रमणपछि चीनका राष्ट्रपति चाउ एन लाईले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।


नेपाली काँग्रेस र चीनबीचको सम्बन्ध बीपीको पालामा मात्र सुदृढ भएको होइन, गिरिजाप्रसाद कोइरालाले पनि त्यसलाई निरन्तरता दिनुभयो । उहाँको चीन भ्रमण पनि उल्लेखनीय रह्यो । उहाँले नेपाल र चीनबीचको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर चीनको औपचारिक भ्रमण गर्नुभयो । भ्रमणमा चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि गएर एक चीन नीतिको पक्षमा नेपाल रहेको स्पष्ट सन्देश दिएर उहाँ फर्कनुभएको थियो ।
दुई देशबीच उच्चस्तरको भ्रमण हुने र सहयोग आदानप्रदानले दुवै देशबीचको सम्बन्ध राम्रो, दह्रो र बलियो बनाउन सहयोग पुग्यो ।

 

प्रधानमन्त्रीको हैसियतमा मात्र होइन, गिरिजाप्रसाद कोइरालाले काँग्रेसको पार्टी सभापतिको हैसियतले पनि दुई पटक चीन भ्रमण गर्नुभएको थियो । एउटा भ्रमणमा त म पनि उहाँसँग सहभागी थिएँ । नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीच पनि उत्तिकै राम्रो सम्बन्ध छ ।


चीनका राष्ट्रपति सी जिनपिङको नेपालको औपचारिक राजकीय भ्रमण हुनु नेपालका लागि ठूलो अवसर हो । राष्ट्रपति सीको नेपाल भ्रमण हुने समाचारले नेपाली एकदमै खुसी भएको मेरो बुझाइ छ । यस्ता उच्चस्तरीय भ्रमणले हाम्रो सम्बन्ध पनि अझै राम्रो र प्रगाढ हुँदै जाने छ । प्राचीन कालदेखि दुई देशबीच रहँदै आएको व्यापार अझ राम्रो हुने छ । भारतका प्रधानमन्त्रीको १६ वर्षपछि नेपाल भ्रमण भएको थियो ।

अब चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु ज्यादै सकारात्मक विषय हो । विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति बन्न सफल चीनका ठूला र प्रभावशाली नेताको नेपाल भ्रमण हुनुमा हामी सबैजना खुसी छौँ । यस भ्रमणले हाम्रो सम्बन्ध अझ सुमधुर र सुदृढ बनाउन सहयोग पुग्ने छ ।


राष्ट्रपति सीको नेपाल भ्रमणलाई सफल बनाउन नेपाल सरकारले उच्चस्तरको तयारी गर्नुपर्छ र गरेको होला भन्ने मलाई लागेको छ । विभिन्न समाचार माध्यममा आएअनुसार नेपालले आफ्नो प्राथमिकतालाई गहन ढङ्गले राख्ने नै छ । भ्रमणका विषयमा हामीलाई औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी दिइएको छैन ।

हामीले ठूलाठूला सडक निर्माण, सुरुङहरूको निर्माण गर्न चिनियाँ सहयोग र प्रविधिलाई प्रयोग गर्न सक्छौँ । एउटा पहाडदेखि अर्को पहाडसम्म जानका लागि बनाउनुपर्ने पुल कसरी बनाउन सकिन्छ भन्ने प्रविधि चीनसँग छ । यस्ता क्षेत्रमा हामीले सहयोग लिन सक्छौँ, यस्ता अवसरबाट लाभान्वित हुन चुक्नु हुन्न । ठूलो परिमाणमा खेती गर्ने प्रविधि भिœयाउन सक्नुपर्छ ।


यसैगरी नेपालको तराई क्षेत्र बाढी तथा डुबानबाट पीडित रहँदै आएको छ भने पहाडी क्षेत्रमा पहिरोले ठूलो नोक्सान पु¥याउँदै आएको छ । २०७२ सालमा आएको भूकम्पले पनि नेपाललाई सताएको छ । यस्ता विषयमा सरकारले व्यापक छलफल गरेर नेपाललाई अधिकतम फाइदा हुने गरी संवादलाई राम्रोसँग अगाडि बढाउनुपर्छ । जहाँ भारतसँग लिनुपर्ने हुन्छ, त्यहाँ भारतसँग लिनुपर्छ र अन्य ठाउँमा चीनसँग सहयोग लिनु उचित हुने छ । नेपाल विकासोन्मुख राष्ट्र भएकाले समृद्ध राष्ट्र चीनसँगको अपेक्षा स्वाभाविक रूपमै बढी हुन्छ । हाम्रो देश विकासका लागि एउटा ठूलो अवसर आएको छ । यसलाई हामीले राम्रोसँग सदुपयोग गर्न सक्नुपर्छ ।


नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने अभियान सञ्चालन गरिरहेको छ । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालको चर्चा संसारभर फैलिने छ । उहाँको भ्रमणबाट हामीले के पायौँ के पाएनौँ भनेर पैसासँग मात्रै सम्बन्ध तुलना गर्नु हुन्न । मित्रता त अमूल्य हुन्छ ।

 

राष्ट्रपतिको भ्रमणले मात्रै पनि नेपाललाई धेरै ठूलो फाइदा हुन्छ । नेपालको छवि माथि उठ्छ, विश्वका पर्यटक नेपाल भ्रमणमा आउन प्रेरणा मिल्छ । नेपालमा नअट्ने र हामीले कल्पनै नगरेका पर्यटक नेपाल आउन सक्छन् । यहाँको प्राकृतिक सौन्दर्य, प्राचीन कला र संस्कृतिले संसारका पर्यटकलाई मोहित पारेको छ । तर राम्रो व्यवस्थापन गर्न हामी अहिलेदेखि नै जुट्नुपर्छ । हाम्रा कर्मचारीले पनि भावी पुस्ता र देशका लागि राम्रो गर्ने अवसरका रूपमा लिनुपर्छ । राष्ट्रपति सीको भ्रमणलाई सफल बनाउन हामी सबै लाग्नुपर्छ ।


राष्ट्रपतिको भ्रमणबाट नेपालमा कम्युनिस्ट विचारको प्रभाव बढ्छ कि भनेर चर्चा भएको पाइयो । यो सत्य होइन । हाम्रो आफ्नै राजनीतिक प्रणाली छ, चीनको आफ्नै खालको छ । हरेक मुलुकका आआफ्नै मूल्य, मान्यता र अभ्यास हुन्छन् । त्यसले त्यहाँको राजनीतिक प्रणालीलाई अगाडि बढाएको हुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा म चीनको एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनमा गएको थिएँ । संसारभरका नेताहरू बेइजिङमा भेला भएका थिए । त्यहाँ राष्ट्रपति सीले यही कुरा भन्नुभएको थियो, त्यो मलाई एकदम याद छ । उहाँको त्यो भनाइले मलाई एकदमै छोयो । उहाँले त्यही कुरा भन्नुभएको थियो, हरेक मुलुकको आआफ्नो संस्कृति, परम्परा र राजनीतिक अभ्यास हुन्छ । अरूको राजनीतिक प्रणालीलाई प्रभाव पार्ने हाम्रो अभ्यास पनि हुँदैन ।


हाम्रो इच्छा भनेको संसार नै सुखी होस्, सबैतिर विकास होस् । हाम्रो सम्बन्ध जल, जमिन र आकाशबाट पनि जोडियोस् । उहाँजस्तो विश्वको ठूलो नेताले नेपालको राजनीतिक प्रणालीलाई असर पार्ने कार्य गर्नुहुन्छ भन्ने कल्पना नै गर्नु हुन्न । यहाँका कम्युनिस्ट तथा नेता कार्यकर्ताले त्यस्तो सोचाइ राखेका छन् भने पनि त्यो भ्रममा पर्नु हुन्न ।


यस भ्रमणलाई सरकारले उच्च तहको तयारी गर्नुपर्छ । उहाँको भ्रमणलाई सरकारले कम्युनिस्ट पार्टीको सफलताका रूपमा मात्रै लिन खोज्यो भने त्यो गलत हुने छ ।

पार्टीभन्दा माथि उठेर देश र जनताको भलाइ, दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सरकार लाग्नुपर्छ । साथै मित्रराष्ट्र चीनबाट प्राप्त हुने सहयोग र सद्भावलाई पार्टीको हितमा होइन जनता र नेपाल राष्ट्रको हितमा सदुपयोग गरिनुपर्छ । भ्रमण सफल बनाउन हामी सबै लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।नेपाली काँग्रेसको विदेश विभाग प्रमुख भइसक्नुभएकी पूर्वउपप्रधान तथा विदेशमन्त्री सुजाता कोइरालासँग गोरखापत्रका पत्रकार नारद गौतमले गर्नुभएको कुराकानीमा आधारित

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार