• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

लाईट डिजाइन देखि शुरु भएको ‘हैट’ को कला यात्रा

निकै व्यस्त देखिनुहुन्छ ?
निकै व्यस्त भन्दा पनि ठिकै व्यस्त छु भन्नुपर्ला । 


‘कबड्डी कबड्डी कबड्डी’ को खबर कस्तो चल्दैेछ ?
चलचित्रको व्यापार, दर्शकको माया र सकारात्मक प्रतिक्रियाहरुले खुशी छु । अझै भन्नुपर्दा दशैंको बेला चलचित्रले दर्शकको मनमा खुशी र कलाकारहरुको मनमा उत्साह ह्रवातै बडाइदिएको छ । यसले नेपाली चलचित्रलाई अझ माथी उठाउन सहयोग गर्छ ।  


पहिला कै सिक्वेल हो या केही नयाँ छ ?
चलचित्र पहिला कै सिक्वेल हो भन्दा खासै फरक पर्दैन । समयसँगै नयाँ पात्र, नयाँ परिस्थितीसँग जोडिदै चलचित्र अगाडि बडेको छ । 


कति भयो रंगमञ्च र चलचित्रमा लाग्नुभएको ? 
म रंगमञ्चमा लागेको १४ वर्ष भयो । चलचित्रमा अभिनय गर्न थालेको भने ८ वर्ष जति भयो ।  

 


 

रंगमञ्चबाट चलचित्रमा प्रवेश कसरी भयो ?
म रंगमञ्चबाट चलचित्रमा कलाकार भएर प्रवेश गरेको ‘कबड्डी’ बाट हो । त्यसभन्दा अघि चलचित्रमा कला सम्बन्धी कामहरु गर्थे । 


रंगमञ्चमा के छ त्यस्तो ?
रंगमञ्च एउटा संसार हो जहाँ समाज, संस्कृती, संस्कार, कला, जीवन र आफुलाई देख्न सकिन्छ । आम मनिसले नाटक किन हेर्छन भन्ने कारण त थाहा भएन । तर नाटक मनोरञ्जनसँगै चेतनाको लागि हेर्नुपर्छ जस्तो लाग्छ ।

 
तपाईलाई नाटकमा कम चलचित्रमा धेरै रुची छ हो ?
मलाई नाटक र चलचित्र दुबैमा बराबरी रुची छ । अहिले चलचित्रहरुमा धेरै व्यस्त देखिएकोले यस्तो लागेको हुन सक्छ । तर चलचित्रमा व्यस्त भएपनि नाटक मैले छाडेको छैन । हालै नाटक ‘महाभोज’ मा पनि काम गरेको थिए । 


अहिलेसम्म कति जति नाटक गर्नुभयो होला ?
मैले दुई दर्जन भन्दा बडि नाटकहरुमा काम गरिसके । सडक नाटक चाहिँ अलि धेरै नै गरेको छु । 


पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
सुनिल पोखरेल र अनुप बरालको कामबाट धेरै प्रभावित छु । 

 


 

रंगकर्मीहरुको पनि गुट वा संगठन छ भन्ने सुनिन्छ, के हो कुरा ? 
संगठन र गुट त कुन क्षेत्रमा छैन र । यती हो कि त्यो गुट धमिलो खालको हुनुभएन । रंगमञ्चमा धमिले खालको गुट छ जस्तो मलाई लाग्दैन । 


हाम्रो कला, साहित्य निकै सिमित घेराभित्र छ भन्छन् नि । के यो साँचो हो ?
आजपनि हाम्रो कला, साहित्य सिमित घेरा भित्र नै छ । यसमा हामी नै अलि फराकिलो हुन नसकेको हो कि । 


विश्व बजारमा पनि हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
हाम्रो कला साहित्य परिचित हुन नसकेको भन्दा पनि सभ्यताको हिसाबले हाम्रो पहुँच अलि नपुगेको हो कि जस्तो लाग्छ । अहिले पनि हाम्रो कला साहित्य हाम्रै पुर्वेलीको जस्तो चलेको छ । हामीले हाम्रो कामलाई अझ धेरै सुधार गर्नुपर्छ कि । 


रंगमञ्चलाई सरकारले त्यति चासो नदिएकोे हो ?
सरकारले कहाँ मात्र ध्यान दिने हो र । यसमा सरकारले ध्यान नै नदिएको भन्न अलि मिल्दैन । तर सरकारले रंगमञ्चलाई प्रोत्साहन भने खासै गर्न सकेको छैन । सरकारले रंगमञ्चलाई खासै जिम्मेवारी पुर्वक लिएको छैन जस्तो लाग्छ ।


चलचित्र राम्रो चल्नुको कारण रंगमञ्चका कलाकारहरुले गर्दा भन्ने सुनिन्छ, सत्य हो ?  
यसमा अहिले रंगमञ्चका कलाकारहरु चलचित्रमा धेरै देखिएको हुँदा त्यस्तो लागेको हुनसक्छ । तर पहिला पनि त चलचित्रमा रंगमञ्च कै कलाकारहरुको अभिनय देखिन्थ्यो । निर शाह, टिका पहाडी, हरिहर शर्मा, मदनदास श्रेष्ठ जस्ता थुप्रै कलाकारहरुले रंगमञ्चबाट नै चलचित्रमा काम गर्नथाल्नु भएको हो । यसमा रंगमञ्च र चलचित्रको कलाकाहरु भनेर छुटिन्छ जस्तो मलाई लाग्दैन । चलचित्रमा रंगमञ्चका कलाकारहरु बढि देखिएकाले यस्तो लागेको हुनसक्छ । 

 


 

नेपाली चलचित्रको अवस्था र व्यापार कस्तो छ जस्तो लाग्छ ?
नेपाली चलचित्रको अवस्थामा अहिले पनि खासै त्यस्तो परिवर्तन देखिँदैन । हामीले नेपाली चलचित्रलाई अझ पनि राम्रोसँग चिनाउन सकेका छैनौं । मलाई चलचित्रमा लगानी अझ पुगेको छैन कि जस्तो लाग्छ । चलचित्रको बजार कै मागलाई ध्यान दिने हो भने अहिले यसको व्यापार आशालाग्दो छ ।

 

तपाईले अभिनय गरेको पहिलो नाटक संग जोडिएको कुनै सम्झनलायक घटना ? 
मैले अभिनय गरेको पहिलो नाटक ‘मलामी’ हो । नाटकलाई अनुप बरालले निर्देशन गरेका थिए भने सरुभक्तले नाटक लेखेका हुन । नाटकमा मेरो भुमिका गाउँमा ६५ वर्ष कटेको एउटा बृद्ध थियो जसलाई उनको सन्तानले छाडेर हिड्छन् । त्यहि सन्तानको पिडामा बिरक्तिएर बसेका बृद्ध मान्छेको कथा हो, ‘मलामी’ । नाटकले मलाई निकै भावुक पनि बनाएको थियो । परिवारका सदस्यमा हुने निकटताले कस्तो अर्थ राख्छ भन्ने नाटको दृश्यमा समेटिएको थियो  


त्यतिबेलाको अवस्था कस्तो थियो ?
मैले नाटक शुरु गर्दा सौगात मल्ल र दयाहाङ राई चलचित्रमा आवद्ध भइसकेका थिए । फेरी त्यतिबेला नाटक पनि कम नै हुन्थे । गुरुकुलमा नाटक मज्जाले नै चल्थ्यो ।  म कलाकार बन्छु भन्ने सोच बनाएको भन्दा मैले यही क्षेत्रबाट नाटकको सेटमा लाईट डिजाइनबाट आफनो कामको यात्रा शुरु गरेको हुँ । 


पुस्तक कत्तिको पढ्नु हुन्छ ? 
चर्चामा आएको किताबहरु सकेसम्म छुटाउँदिन । समय मिलेसम्म पढ्छु । 


मन पर्ने लेखक ? 
पारिजात, बिपी कोइराला, र नेपालीमा अनुवाद गरेका किताबहरु म धेरै पढ्न रुचाउँछु । 


तपाईको ‘हैट’ भन्ने थेगो एकदमै चर्चित छ, कसरी आयो यो थेगो ?
यो बोल्दा बोल्दै आएको थेगो हो । यो एउटा साधारण शव्द हो । यसलाई जसले पनि बोल्न सक्छ । नाटकमा काम गर्दा ‘हैट’ शब्द धेरै उच्चारण गरे । जसले मलाई काम गर्न अझ हौसला बडाउँथ्यो । यो थेगो चलचित्र ‘कबड्डी’ बाट शुरु भएको हो । ‘हैट’ यसको क्यारेक्टरले हिट भएको हो ।

 

प्रस्तुति : सुकृत नेपाल 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार