• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

महात्मा गान्धीको विचार सान्दर्भिक : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् । 

 

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताए । 

 

'गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो” प्रधानमन्त्री ओलीले भने, 'विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विस्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।'

 

पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उनले हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताए ।

 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गान्धी बिसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताउँदै गतिशील र परिवर्तनशील समाजमा पूर्ण मानव बन्नका लागि भौतिक विकाससँगै आत्मिक सुखलाई पनि सँगसँगै लानुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने धारणा राखे । 

 

कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जिब पुरीलगायत उपस्थित थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार