• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019
रंगमञ्च

शिल्पी थिएटरको प्रस्तुतिमा नाचघरमा नाटक 'मुकुन्द-इन्दिरा' मञ्चन हुँदै 

काठमाडौं । मुकुन्द-इन्दिरा नाटकमा नेपाली सामाजिक मनोवैज्ञानिकताको सफल प्रयोग पाइन्छ । यो नाटक पाँच अङ्क र अठार दृश्यमा संरचित छ । पहिलो, दोस्रो र पाँचौं अङ्कमा तीन-तीन दृश्य, तेस्रो अङ्कमा पाँच दृश्य र चौथो अङ्कमा चार दृश्य रहेको प्रस्तुत नाटक सुखान्त कथानकलाई समेटी उभिएको छ ।  नाटक समको ध्रुव (१९८६) र प्रह्लाद (१९९४) पछिको तेस्रो संयोगान्त नाटक हो । नाटक वि. सं. १९९४ सालमा प्रकाशित भएको हो ।

 

पाटन सहरका मध्यमवर्गीय साहू रूपनारायण श्रेष्ठको एउटा मात्र छोरो मुकुन्द उच्च शिक्षा ग्रहण गर्न कलकत्ता गएको पृष्ठभूमिबाट नाटकको कथावस्तु सुरु हुन्छ । कलकत्तामा मुकुन्द कुसङ्गत, कुलत र सहरिया रमझममा आकर्षित भई आफ्नो घर, आमाबाबु, पत्नी, राष्ट्र आदि सबै चिज उसले बिर्सेको छ । घर आउन आग्रह गरी बाबुले पत्र पठाउँदा ऊ त्यसको जवाफ फर्काउन समेत छोड्छ । छोराको यस्तो चालाढाला देखे रूपनारायण अति चिन्तित देखिन्छन् । उनको यस्तो अवस्था र मुकुन्दकी पत्नी इन्दिराको विरही यौवन देख्न नसकी भवदेव मुकुन्दलाई लिन कलकत्ता जान्छन् । त्यहाँ गएर भवदेव मुकुन्दलाई फर्काउन निकै प्रयास गर्छन् र केही नलागेपछि इन्दिराको सतीत्व परीक्षण गर्ने प्रस्ताव राख्छन् । यस प्रस्तावलाई मुकुन्द मान्न तैयार हुन्छ र उसले इन्दिराको सतीत्व डगाएमा ऊ कलकत्ता फर्कन पाउने तथा नडगाएमा उसले नेपालमैं बस्नु पर्ने बाचा गर्छन । बाचा स्वीकार गरी मुकुन्द नेपाल आउँछ र धारामा इन्दिरालाई भेटेर आँफू मुकुन्दको घनिष्ठ साथी हो भनेर आफ्नो परिचय दिन्छ । त्यसै बेला मुकुन्दका समाचारहरू बताउने भनेपछि उसलाई भोलिपल्ट बिहान बारीमा भेट्ने भनी इन्दिराले डाक्छे ।

 

छद्मवेषी मुकुन्दले इन्दिरालाई बारीमा भेटेर उसको प्रशंसा गर्दै मुकुन्दको दुश्चरित्रबारे चर्चा गर्छ । तर इन्दिरा ऊप्रति वास्ता गर्दिन । त्यसपछि अन्य प्रयासहरू गर्दै ऊ इन्दिरा समक्ष विवाहको प्रस्तावसमेत राख्नपुग्छ, तर यस्तो प्रस्ताव सुन्नासाथ इन्दिरा छद्मवेषी मुकुन्दलाई हप्काइदिन्छे । सबै प्रयास असफल भएपछि ऊ खुकुरी भिरेर राती इन्दिरा सुतेको कोठामा पुग्छ र नाङ्गो खुकुरी देखाएर तर्साउने प्रयास गर्छ । इन्दिरा उसलाई कोठाबाट निस्किन आदेश दिन्छे तर ऊ बाहिर नगई उसैलाई समाउन तम्सन्छ । इन्दिरा मौका पारी उसैले बोकेको खुकुरी चलाउन थाल्छे र उसको टाउको एवं हातमा चोटपटक लाग्छ अनि ऊ ढल्छ । त्यत्ति नै बेला भवदेव आएर त्यो ढल्ने व्यक्ति मुकुन्द नै हो भनेर चिनाउँछन् । त्यसपछि इन्दिरा पनि मूच्र्छा पर्छे । त्यसपछि मुकुन्दका बाबुआमा पनि त्यही कोठामा आइपुग्छन् । सामान्य उपचारपछि दुबै जना ब्युँझन्छन् र ती दुबैलाई कोठामैं छाडी सबै जना बाहिरिन्छन् । यसरी कथानकको अन्त्यमा मुकुन्द र इन्दिराको चीरकालपछि मिलन हुन्छ र उनीहरू एकअर्कासँग कहिल्यै नछुट्ने बाचा गरेपछि नाटकको अन्त्य हुन्छ ।

 

मुकुन्द इन्दिरा धेरै पात्रहरू समावेश  नाटक हो ।  नाटकमा मुकुन्द, इन्दिरा, भवदेव, रूपनारायण, धनमती, बूढा, राजामती, विमान, पुनाचा, रमेशदास, आदि  पात्रहरू रहेका छन् । यसमा छात्रवर्ग, हात हेर्ने, नाऊ, रमेशदासको नेपाली नोकर, भरियाभरिनीहरू, ब्राह्मणहरू, डोलेहरू, कुल्लीहरू आदि अन्य सहायक पात्रहरू समेतको अभिनय देख्न सकिन्छ । 

 

नाटककार तथा नाट्य सम्राट बालकृष्ण समको यस नाटकलाई वाङ्मय सताव्दी पुरुष सत्यमोहन जोशीेले परिकल्पना तथा निर्देशन गरेका हुन । मानहाङ लावती, मात्रिका घिमीरे, सीता घिमीरे, पवित्रा खड्का, दिवेन कार्की, हेम तण्डुकार, रविन परियार, सुमित भण्डारी, र स्मारिका फुयालको नाटकमा अभिनय रहेको छ ।

 

नाटकको प्रकाश परिकल्पना घिमीरे युवाराज र शेख अमजद प्रवेजको रहेको छ भने मञ्च परिकल्पना तथा प्रकाश झकेन्द्र वि सि ले गरेका छन् । शिल्पी थिएटरको प्रस्तुतिमा आज नाटक राष्ट्रिय नाचघरमा दिउँसो ४ बजे मञ्चन हुँदैछ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार