• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

 

कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए ।

 

कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।

 

सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उनले बताए ।

 

यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।

 

केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन् । अरु एक÷दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिए । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार