• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

प्याज गोदाममा छापा

काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

 

अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो ।

 

अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ ।

 

केही दिन अधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा रु १३५ प्रतिकिलो पुगेको छ । कालीमाटीस्थित तरकारी बजारमा आज प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दसैँको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार