• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रवास

एनआरएनए महासचिब केसीको ‘पर्सनल लन्डन भिजिट’ प्रति अनेक शंका

लन्डन ।एनआरएन युकेको चुनावी विवाद नसेलाउँदै केन्द्रका लागि डेलिगेट्स छनोट गर्न लागिएको सबैभन्दा संवेदनशील क्षणमा एनआरएनए आइसीसीका महासचिव डा. बद्री केसी विना निम्तो लन्डन आइपुगेका छन् । 

बिहीबार राती १० बजे हिथ्रो विमानस्थलमा उनलाई एनआरएन युकेका नवनिर्वाचित महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले स्वागत गरेका थिए।

“म पर्सनल भिजिटमा लन्डन आएको हुँ ।  छोटो सूचनामा पनि साथीहरु मलाई स्वागत गर्न आउनुभयो । म आभारी छु,” उनले भने ।

 

एनआरएनएमा अध्यक्ष पदका उम्मेदवार कुमार पन्तको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका केसी एनआरएनएको एमआइएस सिस्टमलाइ एकलौटी गर्न खोजेका कारण विवादमा आएका छन् ।
एनआरएनएका उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको ४८ घण्टा भित्रै उनी लण्डन उत्रीएका हुन्। 

संसारकै सबैभन्दा ठूलो एनसीसी बन्न सफल एनआरएन युकेले काठमाडौँमा आउंदो महिना हुन लागेको विश्व सम्मेलनमा १८० जना भन्दा बढी डेलिगेट्सहरु पठाउने छ ।

 

त्यसमा चलखेल गरेर कुमार पन्तका समर्थकहरुलाइ मात्रै डेलिगेट्स सूचीमा पार्ने एकसूत्रीय अभियानमा महासचिव केसी लन्डन उत्रेको एक जानकारले बताए ।
तर अर्को पक्षले भने उनका सबै गतिविधि नजिकबाट नियालीरहेको छ । “युकेमा गत १४ सेप्टेम्बरको चुनावको विवाद अझै सकिएको छैन । एक समूहका साथीहरुले अझै सपथ लिनु भएको छैन।

 

बेलायतका अग्रजहरुले  सहमतिका लागि  निरन्तर प्रयास  गरिरहंदा यसलाई  विवादमा पारेर हस्तक्षेप  गर्न खोज्नु दुर्भाग्यपूर्ण छ,” एनआरएन युकेका एकजना अभियन्ताले भने । केसीको  भ्रमणले विवाद  चरम  सीमामा पुराउने निश्चित  छ ।


युकेकी नवनिर्वाचित अध्यक्ष पुनम  गुरुङका  समर्थकहरु पनि केसीको भ्रमणबाट सशंकित बनेका छन् केन्द्रको राजनीति युकेमा घुसाउंदा पुनम गुरुङ विवादमा पर्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

एनआरएन युकेका एक अग्रजले सुटकेस बोकेर डेलिगेट्स लिस्टमा धांधली गर्न खोजे केसी विरुद्ध सप्रमाण केन्द्रमा उजुरी गर्ने चेतावनी दिएका छन् ।

 

डा केसी मात्रै हैन, एनआरएनलाइ सिन्डिकेटको रुपमा चलाउन खोज्ने समूहलाइ हराएर कडा जवाफ दिन एनआरएन युकेका सबै अग्रजहरु र डेलिगेट्सहरु एकजुट हुनु पर्ने उनको भनाइ छ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार