• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

सेनाको आलोचना गरेकी अधिकारकर्मी भागेर अमेरिका पुगिन्

AFP

पाकिस्तान ।  सेना विरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी एक पाकिस्तानी मानव अधिकारकर्मीले देश छोडेकी छन्। देशव्यापी आफ्नो खोजी र आफू विरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै अधिकारकर्मी गुललाई इस्माइल अमेरिका पुगेकी हुन्।

 

उनीमाथि 'राज्य विरुद्धका गतिविधिमा संलग्न भएको' र 'हिंसा फैलाएको' पाकिस्तानी अधिकारीहरूले आरोप लगाउँदै आएका छन्। समाचार संस्था एएफपीसँग कुरा गर्दै इस्माइलले आफ्नो ज्यानलाई खतरा भएकोले देश छोडेर भाग्न बाध्य भएको बताएकी छन्।

 

मुद्दा
उनले भनिन्, 'नभागेको भए मलाई जेल पुर्‍याइन्थ्यो र वर्षौँसम्म यातना दिइन्थ्यो र मेरो आवाज दबाइन्थ्यो ।' इस्माइलका बुवाले बीबीसी उर्दूलाई बताए अनुसार उनीविरुद्ध पाकिस्तानी अदालतमा छवटा मुद्दा हालिएको छ।

 

त्यसकारण आफ्नो जीवन गम्भीर खतरामा रहेको उनले निष्कर्ष निकालिन्। उनले भने, 'आफ्नो जीवन खतरामा रहेको र देश नछाडेमा जे पनि हुन सक्छ भनेर यो समयमा गुललाईले देश छाड्ने निर्णय गरेकी हुन् ।'

 

एउटा वक्तव्यमा अधिकारकर्मी इस्माइलले भनेकी छन्, 'पछिल्ला केही महिना एकदम डरलाग्दो रहे। मलाई धम्की दिइयो, दुर्व्यवहार गरियो। म भाग्यमानी छु कि अहिलेसम्म जीवित छु।'

 

आफ्नो यात्रामाथि प्रतिबन्ध लगाइएकोले उनले देश कसरी छोडिन् भन्नेबारे उल्लेख गरेकी छैनन्। यद्यपि न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनिन्, 'म कुनै विमानस्थलबाट चाहिँ उडिनँ।' अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकी इस्माइल न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन्।

 

किन प्रहरीले इस्माइललाई खोजिरहेका थिए ?
खासगरी महिला तथा बालिका विरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे इस्माइलले कैयौँ वर्षदेखि आवाज उठाउँदै आएकी छन् । यद्यपि अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी सेनाको कारबाहीका क्रममा महिला माथि दुर्व्यवहार गरिएको भन्दै आवाज उठाउन थालेपछि उनी अधिकारीहरूको नजरमा पर्न गइन्।

 

यसै हप्ता वाशिङटनमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, 'म कहाँ आएर धेरै महिलाहरूले यौन दुर्व्यवहारका घटना नौलो नभएको बताए । त्यो वर्षौँ देखि हुँदै आएको छ।' सन् २०१८ को अक्टोबर महिनामा लण्डनबाट फर्कने क्रममा इस्लामाबाद विमानस्थलबाट इस्माइललाई पहिलो पटक पक्राउ गरिएको थियो ।

 

त्यतिबेला उनी सहित १९ जना माथि पाश्तुन तहफुज मुभमेन्टद्वारा आयोजित एउटा र्‍यालीमा राज्य विरुद्ध र सेना विरुद्ध बोलेको आरोप लगाइएको थियो। पीटीएमका एकजना अभियानकर्मी अर्मान लुनीको हिरासतमा भएको मृत्युलाई लिएर गत फेब्रअरीमा उनलाई फेरि पक्राउ गरियो ।

 

त्यतिबेला आफूलाई दुई दिनसम्म खाना र पानीविना चिसो कोठामा राखिएको उनले बताएकी छन्। तर गत मे महिनामा अन्तिम पटक पक्राउ गरिएपछि उनीमाथि राज्यविरुद्ध गतिविधि गरेको आरोप लगाइयो। त्यसपछि उनले लुक्ने निर्णय गरिन् । त्यतिबेला एक १० वर्षीया पाश्तुन बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर उनले आवाज उठाइरहेकी थिइन्।

 

को हुन् गुललाई इस्माइल ?
सोह्र वर्षको उमेर देखि नै गुललाई इस्माइलले मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी छन् । उनी उत्तर-पश्चिमी पाकिस्तानको ख्यबर पख्तुन्ख्वा प्रान्तकी हुन् । त्यहाँ उनले बालिकाहरूका लागि काम गर्ने उद्देश्यका साथ अवाएर गर्ल्स नामक एउटा गैरसरकारी संस्था स्थापना गरिन् ।

 

घरेलु हिंसा र कम उमेरमा हुने विवाह विरुद्ध लगायतका विषयमा काम गर्न सन् २०१३ मा उनले सयजना महिला भएको एउटा समूह बनाइन्। आफूले गरेका कामका लागि उनले कैयौँ पुरस्कार पाएकी छन् । आफ्नो काम जोखिमपूर्ण छ भन्ने कुरा उनलाई शुरूदेखि नै थाहा थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार