• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति : विद्यार्थीबाट बढी लिइएको शुल्क फिर्ता गर्ने

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्ता सहमतिमा टुंगिएको हो ।

 

विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उनले बताए । बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताए ।

 

बिहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिशचन्द्र न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी तर्फबाट विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागी भएका थिए ।

 

कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार