तुम्खेवाका दुई कविता
काठमाडौं । बिमला तुम्खेवा नेपाली कविताका क्षेत्रमा चर्चित नाम हो । बिमला तुम्खेवाका कविताहरु / नदी , छाल र तरङ्गहरु / संस्मरण बूढो रुखको रहत्केलामा पृथ्वी लिएर उभिएको मान्छे गरि चार कविताकृति प्रकाशित छन् । आफ्ना कवितामा भिन्न र शालिन कविता लेख्ने तुम्खेवाको उपस्थिति नेपाली कविताको क्षेत्रमा शक्तिशाली रुपमा लिईन्छ । यहाँ नदि, छाल र तरङ्गहरु कविता कृतिबाट दुई कविता प्रस्तुत गरिएको छ ।
तरङ्गहरुमा
सायद ,
यहाँबाटै सुरु भयो प्रेमको अभिमत ।
म,
सुर्यस्तपछिको जुनसँग
आलिङ्गन हुन आतुर छु
तिमीलाई अँगालो भरिभरि चुमेर रुन चाहन्छु
कि हामी केवल भ्रम हौं भनेर ।
त्यसदिन,
पानीको सतहहरुमा
तरङ्गीत हुँदै सल्बलाएको पानी लालीमा
मेरो प्रेमको अनुभुतिहरुमा उत्कृष्ट चेतना भएर रहनेछ ।
जहाँबाट मैले ,,,,,,
चेतना प्राप्तिको प्रसव वेदना भोगेको छु
जहाँबाट सही अर्थमा प्रेमको सौन्दर्य बोध गरेको छु ।
आऊ !
एकैछिन यो पोखरीको किरारमा बसेर डुब्न लागेको घाम हेर्दै
छालहरुको कुरा गरौं र हराऔं तरङ्गहरुमा ।
आँसु
आफुलाई प्रतिबिम्बित गरेर
जूनको शालीन साँझमा तिम्रो तस्बिरलाई हेरे
र,
त्यो साँझ बेस्सरी रोएँ ।
आँसु झरी बनेर रुझीरह्यो
तस्बिर झन् झन् पृथक लाग्यो
अनुभूतिहरु मौन रहे ।
र,
तस्बिर अँगालोमा च्यापेर म त्यो रातभर रोईरहेँ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस