• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

यू-१८ साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग १-१ मा रोकियो

काठमाडौं । यू-१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरी रोकिएको छ । शुक्रबार समूह ए अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको हो । 

 

पहिलो हाफ मै पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गोल गरेको हो । नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए । दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको प्रयास गरेपनि माल्दिभ्सका गोलरक्षक हसन अलिफले उच्च प्रदर्शन गरेपनि नेपालको लगातारको आक्रमणलाई जोगाए ।

 

खेलको १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गोल गरेका थिए ।

 

बराबरीसँगै समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ ।

 

प्रतियोगितामा नेपाल र माल्दिभ्स सहित भुटान, बंगलादेश, भारत र श्रीलंका पनि सहभागी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार