• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

मलाई मन परेका पाँच चलचित्र

मनोज गजुरेल 

काठमाडौं । नेपाली हास्यव्यङ्गयका बादशाह हुन मनोज गजुरेल ।  उनी स्वरको मात्र नक्कल गर्दैनन् कुनै पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरीक वनावटको समेत नक्कल गर्छन् । यतिसम्म कि धेरै दर्शकहरु कुन सक्कली र नक्कली पात्र छुट्याउन सक्दैनन् ।

 

पूर्वराजा ज्ञानेन्द्र शाह देखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तरराष्टि्रय जगतमा समेत वाहावाही कमाएका छन् । उनलाई अमेरिकी अनलाइन सीबिएस न्युज ११ ले विश्वका १८ कमेडियनको सूचीमा  राखेको छ ।

 

यसरी वाहवाही कमाउनमा उनी आफ्नो प्रस्तुतिमा हास्यव्यङ्ग्य मात्र हैन बौदि्धकतालाई समेत मिसाउँछन् । यसैले उनी समग्रमा बौदि्धक हास्यकलाकारको रूपमा चिनिन्छन् । उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनीतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदिमा आधारित हुन्छन् ।

 

उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन् ।

 

 

हास्य कलाकार मनोज गजुरेललाई मन परेका यी पाँच चलचित्र :

 

आर्दश नारी
मैले हेरेको पहिलो नेपाली चलचित्र हो । कथा, पात्रको बारेमा धेरै याद नभए पनि थुप्रै दृश्य सम्झना छन् ।


कान्छी 
मलाई मन पर्ने अर्को चलचित्र हो । मैले यो काठमाडौं आएपछि शितल हलमा हेरेको चलचित्र होे । शिव श्रेष्ठ, शर्मिला मल्ल र मौसमीले राम्रो अभिनय गरेका छन् । 


कुसुमे रुमाल 
मलाई यस चलचित्रको पात्र, कथा र दृश्य सबै सम्झना छ । यही चलचित्रबाट म भुवन केसीकोे अभिनयको प्रशंसक बनेको हुँ । तृप्ती, उदित नारायण झा को अभिनय एकदमै राम्रो छ । चलचित्रको गीतसंगीत एकदमै मन पर्यो । 


बलिदान 
मलाई मन परेको सन्देशमुलक चलचित्र हो । पहिलोपटक यहि चलचित्रमा मैले आवाज दिएको छु । 'चरण बिगरियो घुगुरु काँडाले, गाउँ बिगरियो गाउँ मारा साँडाले’ भन्ने गीतको बिच बिचमा आउने सम्वाद मेरो स्वरको हो । हरिवंश आर्चायको अभिनय एकदमै घतलाग्दो छ । 


पशुपति प्रसाद
यो प्रयोगवादी चलचित्र हो । यसमा कम खर्चमा उच्चस्तरको कथा र प्रस्तुति छ । समकालिन चलचित्रमा मलाई पशुपति प्रसाद एकदमै मन पर्यो । कलाकार खगेन्द्र लामिछाने र बिपिन कार्कीको अभिनय एकदमै रमाइलो थियो । हनुमान जी बन्ने रविन्द्र सिंह बानियाँलाई त झन कहाँ भुल्न सकिन्छ र । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार