• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

१७३ रोपनीमा संसद् भवन, संरचनाहरू एकीकृत 

काठमाडौं । तत्कालीन सरकारले २०५५ मा भवन निर्माणको निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । २०६४ देखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ । सरकारले संसद् सञ्चालनका लागि केन्द्रलाई बर्सेनि १५ करोड भाडा तिर्दै आएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा रहने नयाँ भवन ‘स्टेट अफ आर्ट’ को एउटा नमुना हुनेछ ।

 

भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसदीय प्रणाली स्थापना भए पनि संसद् बस्ने स्थान अभाव पूर्ति गर्न भवन बन्न लागेको बताए । उनले विगतमा भवन निर्माणमा ढिलाइ भए पनि अब विलम्ब स्वीकार्य नहुने बताए । ‘कबुलभन्दा पछि पैसा थप्ने काम हुँदैन’ प्रधानमन्त्री ओलीले भने । काम ढिलो गरेर ठेकेदारले आफैं टाट पल्टेको बताउने गरेको प्रसंग जोड्दै उनले त्यही बहानामा पैसा थप्न लगाउने प्रवृत्ति रहेको बताए । उनले मोतीहारी—अमलेखगन्ज पाइपलाइन सञ्चालन भएको उल्लेख गर्दै रानीपोखरी र धरहरा बन्न लागेको बताए । कार्यक्रममा सहरी विकासमन्त्री मोहमद इस्तियाक राईले भवन तोकिएको समयमै पूरा हुने प्रतिबद्धता जनाए । सहरी विकास तथा भवन विभागका महानिर्देशक मणिराम गेलालले संसद् परिसरको संरचनाको विस्तृत विवरणको जानकारी दिए ।

 

१ सय ७३ रोपनी ८ आनामा फैलिएको संसद् परिसरमा बन्ने सबै भवन ‘आइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधि अपनाएर नेपाली वास्तुकला झल्कने संरचना हुनेछ । ‘संघीय संसद् भवन परिसर नाम’ दिइएको उक्त संरचनाको निर्माण तीन वर्षमा पूरा गर्ने लक्ष्य छ । भवन क्षेत्रले २७ र खुला हरियाली ४५ प्रतिशत ओगट्नेछ । नेपाली कलात्मक शैलीको भवन निर्माणका लागि सहरी विकास तथा भवन विभागले अन्तिम डिजाइन तयार गरेर गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

 

विभागका महानिर्देशक मणिराम गेललाका अनुसार मुलुककै ठूलो र अत्याधुनिक भवनमा युगअनुसार प्रविधि र सुविधा उपलब्ध हुने गरी डिजाइन गरिएको छ । उनका अनुसार परिसरलाई मुख्यतस् भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ । परिसरमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय दल र संसदीय समितिको कार्यालय, संसद् सचिवालय, अतिविशिष्ट व्यक्तिको भवन, ‘लबी’, पुस्तकालय, चमेना गृह, प्रेस तथा छपाइ भवन, सुरक्षा भवन, पार्किङ स्थललगायत संरचना हुनेछ । बाँकी क्षेत्र सडक पूर्वाधार र वाटरबडीले ओगट्नेछ । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार