• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

शिक्षक : व्यक्ति र व्यक्तित्व

काठमाडौं । आधुनिक शिक्षण कलामा ज्ञानात्मक, भावनात्मक, क्रियात्मक र व्यावहारिक पक्षलाई महत्व दिइन्छ । शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउन सिकारुमा पढाइ लेखाइ प्रतिको रुचि बढाउन आवश्यक हुन्छ ।

 

यसका लागि शिक्षकले बालमनोविज्ञानको अध्ययन गरी उनीहरूको घर, परिवार, उमेर, पूर्वज्ञान, मानसिकता, कठिनाइलगायतका पृष्ठभूमिको जानकारी राखी पढाइप्रति रुचि जगाउने वातावरणको सिर्जना गर्नुपर्छ । गुणस्तरीय शिक्षण कार्य गर्न शिक्षक व्यक्ति भए तापनि उसमा अनेक व्यक्तित्वको भूमिका निर्वाह गर्न सक्ने क्षमता अनिवार्य ठानिन्छ ।

 

अहिले सार्वजनिक शिक्षाको गुणस्तरका बारेमा सर्वत्र असन्तुष्टि छ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेका शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको पछिल्लो सर्वेक्षणले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार नभएको देखाएको छ ।

 

यस वर्षको सर्वेक्षणमा अत्यन्त कम संख्याका विद्यालय मात्र गुणस्तरीय भएको समाचार आएको छ । शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा गुणस्तर नहुनु भनेको देशका सम्पूर्ण क्षेत्रहरूको अवस्था कमजोर हुनु हो । विकासको आधारशीला भत्कनु हो । राज्य दक्ष जनशक्ति उत्पादन गर्न असफल हुनु हो । यसरी शिक्षाको जग कमजोर हुनुमा कसको कमजोरी रहयो ?  शिक्षाको नीतिमा खोट छ कि ? राज्यको कार्यशैलीमा कमीकमजोरी रह्यो ? अथवा शिक्षाको मियोका रूपमा रहेको शिक्षकको योग्यता, प्रवृत्ति वा कार्य क्षमतामा कमी रह्यो ? शिक्षा क्षेत्रको सुधारका लागि राज्यले पहल नै नगरेको पनि होइन । तथापि, शिक्षामा सुधार हुन सकेको छैन ।

 

मूलतः प्रजातन्त्रको पुनस्र्थापना पछाडि शिक्षा क्षेत्रमा व्यापक राजनीतिक हस्तक्षेप हुन पुग्यो । राज्यले शिक्षा आयोगद्वारा समयमा नै योग्य शिक्षक छनोट गर्न सकेन । शिक्षण पेसाप्रति प्रतिभावान् जनशक्तिको आकर्षण हुन सकेन । शिक्षकले राजनीतिक दलहरूका संघ÷संगठन चलाए । शिक्षालय राजनीतिक दलका भर्तिकेन्द्र जस्ता भए । शिक्षण पेसाजस्तो प्राविधिक पेसालाई जे जसरी जसले पढाए पनि हुन्छ भन्ने राजनीतिक बुझाइ रह्यो । फलतः शिक्षण संस्थाहरू थला परे । गुणस्तरीय शिक्षण सिकाइ हुन सकेन ।

 

राज्यले ढिलै भए पनि अहिलेकोे शिक्षा नीति २०७५ मा शिक्षण पेसासम्बन्धी केही नयाँ सोचहरू समावेस गरेको छ । शिक्षकको पेसागत सीप अभिवृद्घि गर्नका लागि हालका शिक्षक तालिम केन्द्रहरूलाई शिक्षण एकेडमीको रूपमा परिणत गर्ने, शिक्षाशास्त्र संकायलाई युनिभर्सिटी अफ एजुकेसन बनाउने, शिक्षकले शिक्षण अनुमतिपत्र प्रदान गर्नका लागि स्वायत्त शिक्षण परिषद् ९टिचिङ काउन्सिल० स्थापना गर्ने, शिक्षकले हरेक पाँच वर्षको अन्तरालमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने, शिक्षकको सक्षमता, शिक्षण प्रतिभा, उत्प्रेरणा र पेसाप्रतिको लगाव परीक्षणका लागि व्यावहारिक कक्षा प्रदर्शन र कौशल परीक्षणलाई अनिवार्य बनाउनेजस्ता विषय समावेश छन् ।

 

यसको साथै शिक्षालाई गुणस्तरीय बनाउन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण वा विशिष्ठता प्राप्त गरेका व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्नका लागि शिक्षकको सेवा सुविधालाई अन्य राष्ट्र सेवकको भन्दा बढी बनाउने र क्षमतावान् व्यक्तिलाई मात्र प्रधानाध्यापक बनाउने कुरा पनि सुझाइएको छ । यदि उल्लिखित कार्य योजना लागू हुन सकेभने शिक्षण क्षेत्रमा सक्षम एवं बहुआयामिक दक्ष जनशक्ति स्थापित हुन सक्ने सम्भावना देखिन्छ ।

 

शिक्षा प्रतिवेदन, २०७५ ले शिक्षा क्षेत्र र शिक्षण पेसालाई मर्यादित र जवाफदेही बनाउने पहल गरेको देखिन्छ । यस प्रतिवेदनमा शिक्षण पेसालाई सामाजिक, शैक्षिक एवं आर्थिक रूपले सबल बनाउने लक्ष्य लिइएको छ । टिचिङ काउन्सिलले प्रदान गर्ने लाइसेन्सका लागि तयार गरिने मापदण्डले योग्य शिक्षकको प्रवेश निश्चित हुनेछ । यदि अहिलेको शिक्षा नीति लागू हुन सकेमा शिक्षालयले सक्षम जनशक्ति पाउनेछन् भन्ने आशा गर्न सकिन्छ ।

 

शिक्षक एक व्यक्ति मात्र होइन । ऊ विद्यार्थीको अनुसन्धानकर्ता, परिवर्तन कर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र, स्रोत व्यक्ति एवं प्रेरणाको स्रोत पनि हो । गुरुजनले पाठ्य विषयवस्तु पढाएर मात्र शिक्षण पेसाको उद्देश्य पूरा हुन सक्दैन । विद्यार्थीका लागि शिक्षक भविष्यको मार्ग दर्शक, नैतिकताको प्रतिमूर्ति हुन सक्नु पर्छ । शिक्षाशास्त्री विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई विषयवस्तु भन्दछन्, राम्रा शिक्षकले व्याख्या गर्छन् र उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट गर्छन् भनेका छन् । विलियमले पढाउने तरिकाको वर्गीकरण गरेअनुरूप शिक्षणको उत्कृष्ट शैली अवलम्बन गर्न पनि पढाउने विषयवस्तु, यसको उद्देश्य, यसले खोजेको पाठ्यसामग्री, यससँग जोडिएको प्राविधिक सीपजस्ता कुरामा शिक्षक सक्षम हुन आवश्यक ठानिन्छ ।

 

समाज परिवर्तनशील छ । समाजमा आएका परिवर्तन सँगसँगै शिक्षा पनि परिवर्तन हुन्छ अर्थात् शिक्षाले समाजलाई परिवर्तन गरिरहेको हुन्छ । परिवर्तनकै क्रममा पाठयक्रम, पाठयपुस्तक, उद्देश्य, शिक्षण शैली आदिमा पनि परिवर्तन आउँछन् । समयसँगै विकसित भएका आधुनिक ज्ञान एवं सीपको अध्ययन, अनुसन्धान र कार्यान्वयन गर्नु सक्षम गुरुजनका प्राज्ञिक गुणहरू हुन् ।

 

प्रशिक्षकसँग अध्यापन विधिको ज्ञान र सीपको अभाव भएमा शिक्षण सिकाई प्रभावकारी हुन सक्दैन । यसर्थ शिक्षण पेसामा संलग्न गुरुजनले पेसागत दायित्व र प्राज्ञिक क्षमतालाई अभिवृद्घि गर्न जरुरी हुन्छ । यसका लागि राज्यले शिक्षा नीति ल्याएर मात्र पुग्दैन । शिक्षकको शिक्षण सीपको विकासका साथै यस पेसालाई मर्यादित र प्राज्ञिक बनाउन पनि भूमिका खेल्नुपर्छ ।राजधानी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार