• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

मौसमी रुघाखोकी र ज्वरोबाट कसरी बच्ने

काठमाडौं । पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्। यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्। तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ।

 

मौसमी बिमारी कहिले हुन्छ ?
नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

 

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन्। मौसमी भाइरल ज्वरो र डेङ्गीका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्ने उनी बताउँछन् । डा. पुन भन्छन्स् 'बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन ।'

 

'धेरैले डेङ्गीकै शङ्का गर्छन् तर हामीकहाँ आएका धेरै बिरामीलाई भाइरल ज्वरोले सताएको, टाइफाइड वा स्क्रब टाइफस लागेको भेटिएको छ।'

 

मौसमी ज्वरो आए के गर्ने ?
डा. पुन भन्छन्, 'यस्तो बिरामीको सङ्ख्या अघिल्ला वर्षहरूमा भन्दा बढेको छ। काठमाण्डू बाहिर पनि उत्तिकै बढेको छ।' 

 

भाइरल इन्फेक्सन भयो भने स्वासप्रश्वासमा समस्या आउने डा. सृजना प्रधानाङ्ग बताउँछिन् । डा. प्रधानाङ्ग भन्छिन, 'रोगसँग लड्न नसक्ने बिरामीहरूलाई भने झाडापखाला पनि लाग्न सक्छ।' 'समयमै निको भएन ‍भने निमोनियानै पनि हुनसक्छ। त्यसैले समयमै उपचार गराउन जरुरी छ।'

 

अरू कस्ता लक्षण देखा पर्छन् ?
टाइफाइडका बिरामीलाई चाहिँ ज्वरो आउने चिकित्सकहरु बताउँछन्।

 

डा. प्रधानाङ्ग भन्छिन्स् 'टाउको दुख्ने, वाकवाकी लाग्ने र कसैकसैलाई कब्जियत वा पखाला पनि लाग्न सक्छ।' सरकारी आँकडा अनुसार डेङ्गी युवाहरूमा बढी देखिएपनि मौसमी रुघाखोकी भने जेष्ठ नागरिक र बालबालिकामा बढी देखिएको छ।

 

बच्नका लागि मौसमी रुघाखोकी लागेका व्यक्तिसँग धेरै सम्पर्कमा नरहन चिकित्सहरूले सुझाव दिएका छन्।

 

बच्ने उपाय के छ ?
चिकित्सकहरू हिँड्दा मास्क लगाएर हिँड्न र रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउन सुझाव दिन्छन् । 'खोप लगाएपछि रुघाखोकीनै लाग्न नदिने भन्नै होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्छ।'

 

यस्तै टाइफाइडबाट बच्न सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको उनी बताउँछिन् । बर्खायाममा पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। सफा उमालेको पानी खानु उचित हुने उनीहरूको भनाइ छ।

 

चिकित्सककहाँ कहिले जाने ?
ज्वरो आएको केहि दिनसम्म निको नभए चिकित्सकसँग जँचाउन डा। पुन बताउँछन्। उनी भन्छन्स् 'सामान्य भाइरल ज्वरो आउँदा तातो र झोल भएको खाना खाँदा फाइदा गर्छ। आराम पनि गर्नुपर्छ।'

 

'तर केही दिनमा पनि निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ, नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ।' कतिपय बिरामी नयाँ किसिमका रोगको लक्षण लिएर पनि आएको डा. पुन बताउँछन्।

 

'निधान हुन नसकेका रोगका लक्षण लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो छ।'  'यस्ता रोगबारे अनुसन्धान गर्न जरुरी छ तर हामीकहाँ हुन सकेको छैन,' उनले भने।

 

सरकार के भन्छ ?
यो मौमसमा हरेक वर्ष देखिने रोगको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले विशेष कार्यकम भने नचलाएको मन्त्रालयका प्रवक्ता बताउँछन्। प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ भन्छन्, 'विशेषगरी सहरी क्षेत्रमा यस्ता बिरामी बढेको विवरणहरू आएका छन्।'

 

'यो मौसमी बिमारी हो। केही सजकता अपनाए महामारीको रूपमा जाँदैन। त्यसैले हामीले नयाँ कार्यक्रम ल्याएका छैनौँ। हाम्रो ध्यान डेङ्गी नियन्त्रणमै छ।' प्रतिक्षा दुलाल/बीबीसी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार