• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

गृहमन्त्रीका भाइ नरेश एक लाख धरौटीमा थुनामुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश धरौटीमा थुनामुक्त भएका छन् ।

 

काठमाडौं जिल्ला अदालतले जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका ७ जना मध्ये गृहमन्त्रीका भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

 

प्रहरीले थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई,सुरेन नगरकोटी बलामी, जावेद अनवर दिन र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । बस्न्यात भने केन्द्रीय कारागार, सुन्धारा थुनामै छन् ।

 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो । बुधबार बहस सकिएपछि थापालाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश गरेको हो।

 

त्यस्तै पक्राउ परेका गृहमन्त्री थापाका भाइ नरेशले आफूले समीरमानलाई जेलमा भेटेको र व्यवसायीलाई धम्क्याएर रकम असुल्न काममा संलग्न भएको आरोप लागेको थियो। गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगीसँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पक्राउ गरेको थियो ।

 

जेलमा बसेकै बेला उनले आफ्ना केटाहरु प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ। यसरी रकम उठाउने गिरोहसँग गृहमन्त्री थापाका भाइको कनेक्सन देखिएपछि उनी पनि पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार