• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रवास

एनआरएन युके निर्वाचनमा विवाद : स्कटल्याण्डको मतगणनामा अनेकौं शंका

लन्डन । स्कटल्याण्ड राज्य परिषदको १४ सेप्टेम्बर २०१९ मा सम्पन्न भएको निर्वाचनमा विविध वैधानिक प्रश्नहरु खडा भएका छन् । निर्वाचन आयुक्त डम्बर घले र सह आयुक्त शिवजी श्रेष्ठले आफैं निर्णय गरी छोटो समयमा स्कटल्याण्डमा आउने जानकारी पठाएका थिए ।

 

स्कटल्याण्डको मिति ०५ सेप्टेम्बर २०१९ मा एकै ठाउँमा सबैलाई पायक र समय मिल्ने गरी बैठक राख्ने सहमति भएको थियो । यसको लागि ग्लासगो, एडिनवर्ग, डन्डी, पर्थ, एभर्डिन् सबैलाई सेन्टर हुने गरी एडिनवर्गको हिमालयन सेन्टरमा  बैठक राखिएको थियो । एनआरएन यूकेकी प्रत्यासी पुनम गुरुङको भोट ग्लासगोमा धेरैं रहेको जानकारी पाएपछि निर्वाचन आयुक्त डम्बर घलेले अकस्मात आफैं निर्णय गरी ग्लासगोमा बिहान ९ बजेदेखि  बैठक गर्ने जानकारी दिएका थिए । 

 

एडिनवर्गको हिमालयन सेन्टरमा बिहान ९ बजे देखि गर्ने भनिएको बैठकमा १२ बजेसम्म पनि प्रमुख आयुक्त घले र सह आयुक्त श्रेष्ठ  नआइपुगेपछि  बैठकका लागि प्रतीक्षा गरेका एभर्डिन, पर्थ, डन्डीबाट आएका सहभागीहरू सबै आ–आफ्नो घर फर्किन बाध्य भएका थिए ।

 

अन्ततः अर्को  बैठक इडनबर्गको काउडेनबेथमा सम्पन्न भएको थियो र स्कटल्याण्डका निर्वाचन आयुक्तमा राम अधिकारी र राम बगाले लाई नियुक्त गरिएको थियो । यसरी एकै ठाउँमा गर्ने भनिएको बैठक छुट्टा छुट्टै ठाउँमा गरिए पछि ग्लासगो र इडनबर्गका नेपाली बीच असमझदारी बढाएको स्थानीयको गुनासो छ ।

 

एनआरएनए स्कटल्याण्डको निर्वाचन सेप्टेम्बरमा बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्ममा सम्पन्न गर्ने भनिएको निर्वाचनको सामग्री फ्लाईटमा छोडिएको र सामग्री आईपुगे १२ बजेबाट निर्वाचन सुरु गर्ने जानकारी अघिल्लो दिनको राति १२ बजे भाइबर ग्रुप मार्फत स्कटल्याण्डका निर्वाचन आयुक्त राम बगालेले दिएका थिए ।

 

ढिलोगरी निर्वाचन शुरू गर्दा इडनबर्गको बुथमा मतदान गर्न एबर्डन, पर्थलगायतबाट आउने मतदातालाई समस्या पर्ने जानकारी थाहा हुँदाहुँदै पनि ग्लासगोमा भएको निर्वाचन बुथको लागि समस्या नभएपछि प्रमुख निर्वाचन आयुक्त डम्बर घलेले  निर्वाचन १४ मैं सक्नुपर्ने दबाब दिएका थिए ।

 

सोही अनुसार  स्कटल्याण्डका निर्वाचन आयुक्त राम बगाले र डा। राम अधिकारीले दिउँसो १२ बजेबाट शुरू गरेर राति २ बजेसम्म भएपनि निर्वाचन गरेरै छाड्ने अडान लिएका थिए । यसरी ‘अनसोसियल आवर’मा निर्वाचन समय राखेपछि अबर्डिन, डण्डी, पर्थबाट एडिनवर्गको बुथमा मतदान गर्न आउने धेरै मतदाता वञ्चित भएका थिए ।

 

अर्कोतर्फ ग्लासगो मतदान केन्द्रमा राति २ बजे सम्ममा ९९ प्रतिशत मत खसेको थियो । लन्डनमा भएको निर्वाचन समितिको विषयममा विवाद हुँदा हुँदै पनि र भोलीपल्ट हतार हतारमा मतपेटिका पुर्याएर प्रमुख आयुक्त डम्बर घले र सह आयुक्त शिवजी श्रेष्ठको रोहबरमा स्कटल्याण्डको मत गणना गर्ने कार्य गरिएको थियो ।

 

यता, एनआरएनए युकेको निर्वाचन प्रक्रिया र मतगणना यसपटक सर्वाधिक विवादमा मुछिन पुगेको छ । जातीय, राजनीतिक, क्षेत्रीय कित्ताकाट प्रष्ट देखिएपछि युके विश्वभरमै विवादित निर्बाचन बन्न पुगेको छ । 

 

मतदान प्रक्रिया धाँधली भएको आरोप प्रत्यारोपलाई बर्तमान कार्यसमिति र निर्वाचन समितिले व्यवस्थित रुपमा टुङग्याउन नसक्दा एनआरएन युके बदनाम बन्न पुगेको शुभेच्छुकहरुको गुनासो छ ।

 

शेर बहादुर सुनार र पुनम गुरुङ अध्यक्षका उम्मेदवार रहेको समुहबीच ठूलो तिक्तता देखिएको छ । सुनार समूहले मतगणना बहिस्कार बीच मत गणना शुरु गरिनु, उजुरीहरुको वेवास्ता गरिनु र एउटा समूहको मात्र दबाबमा मत गाणना हुनुले निर्वाचन प्रक्रियामा विभेद भएको आरोप लागिरहेको छ । 

 

शनिबार सम्पन्न बेलायतका विभिन्न १३ निर्वाचन केन्द्रमा कुल १३ हजार ६ सय २९ मतदाता रहेकोमा झण्डै ७० प्रतिशत हाराहारीमा मत खसेको अनुमान गरिएपनि निर्वाचन समितिले आधिकारिक विवरण अहिलेसम्म पनि सार्वजनिक गरिसकेको छैन् ।

 

यद्यपी, एनआरएन युकेको वर्तमान कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउंदै निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न माग गरेका थिए । निर्वाचनमा धाँधली भएको र पुनः मतदानको लागि चासो नदेखाएको भन्दै कार्यसमितिको बहुमतले निर्वाचन समितिलाई बिघटन गरेको छ ।

 

समस्याहरु जटिल बन्दै गएपनि तर अध्यक्ष योगकुमार फगामी पनि एकलौटी रुपमा अघि बढेको आरोप लागिरहेको छ । बेलायतमा फर्जी मत खसेको आशंकामा विवाद उत्सर्गमा पुगेको हो । यसपटकको निर्वाचनपछि एनआरएन युके फुट्ने संकेत देखिएको छ । जसका कारण एनआरएन केन्द्रलाई नै ठूलो असर पार्ने प्रष्ट छ । (ललिता शर्मा)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार