• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

पढाईलाई उमेरले छेक्दैन 

कैलाली । जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षकी भइन् । उनी दुई वर्षदेखि नियमित विद्यालय जान्छिन् । ‘‘४ कक्षाका साना बालबालिकासँगै पढ्छु । नेपाली अक्षर सरर पढ्न सक्छु,’’ मनबुझौनी भन्छिन्, ‘‘अंग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जाँदा अझ पढ्ने इच्छा बढ्दै जाँदो रहेछ ।’’     

 

उनले सात जनाको परिवारका लागि बिहान र साँझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिइरहेकी छन् । ‘‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुँदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमिति पोशाकमै विद्यालयमा आउने गरेकी छु,’’ उनले भने, ‘‘म श्रीमान्लाई सुनाउँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’’

 

उनीजस्तै जोशीपुर( ३ छोटेलाल स्मृति आधारभूत विद्यालय लक्कडमा आठ महिला विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उनीहरु सबै ४० वर्षभन्दा माथि उमेरका छन्  । पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने भनाइलाई जोशीपुरका आठ आमाले प्रमाणित गरेका छन् । उमेरले धेरै पढ्न नसके पनि हिसाबकिताब राख्न र  अक्षर चिन्न सक्ने हुने सबैको इच्छा छ । सावाँ अक्षर पढ्न र लेख्न सक्ने भई व्यावहारिक जीवन अगाडि बढाउने सबैको रहर छ । 

 

सानो उमेरमा पढ्न नपाएका महिला ४० कटेपछि पढ्न पाएकामा निकै खुशी छन् । ग्रामीण क्षेत्रमा रहेकाले अहिले गाउँठाउँमा विभिन्न बैठक र  महिलासम्बन्धी छलफल हुने भएकाले आफूहरु निरक्षर हुँदा हस्ताक्षरसम्म गर्न नजानेको पीडाले उनीहरुमा पढ्ने इच्छा जागेको हो ।
  

सामूहिक रुपमा पढ्ने मनसाय र सल्लाह गरेर विद्यालय आउन थालेको अर्का विद्यार्थी पानमति चौधरीले बताए । सुरुमा विद्यालय आउँदा धेरैले कुरा काटे, समूहमा सँगै आउने, सँगै जाने गर्‍यौँ, जसले सहज भयो”, पानमतिले भनिन्, ‘‘अहिले नियमित विद्यालय आउँदा पढाइ राम्रो भइरहेको छ । सबैले राम्रो गरिरहेछौँ भन्न थालेका छन् ।’’

 

विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउछिन् । ‘‘महिला विद्यार्थीहरु छिट्टै लेख्न, पढ्न  नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । सुरुसुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’’, शिक्षिका कठरियाले भनिन्, नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरुलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छौं ।’’

 

विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरु आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताए ।  ‘‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’’, प्रधानाध्यापक कठरियाले भने, ‘‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौँ । उहाँरुलाई थप कक्षा पनि दिने गरेका छौँ ।’’
    

उनले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार