• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

सुदूरपश्चिममा डेंगु संक्रमणका बिरामी बढ्दो 

कैलाली । मुलुकभर डेंगु संक्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेंगुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी कैलालीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ ।

 

उनका अनुसार डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेंगुको संक्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।

“लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई रु एक लाखदेखि रु दुई लाखसम्म रकम दिएको छ”, किट नियन्त्रण निरीक्षक जोशीले भने, “धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई-दुई लाख दिइएको छ ।” लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै सुरु गरेका छन् । 

 

यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको पनि उनले जानकारी दिए । 

 

किट नियन्त्रण निरीक्षक जोशीले निर्देशनालयले प्रदेश सामाजिक विकास मन्त्रालयमा डेंगु नियन्त्रण अभियान सञ्चालनका लागि योजना पेश गरेको जानकारी दिए । “धनगढी र भीमदत्तनगरमा रहेका स्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रमा लार्भा नष्ट अभियान सञ्चालनको तयारी गरेका छन्”, जोशीले भने, “अहिले यहाँका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप पनि बढेको छ ।”

 

एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गरिएमा निको हुने जोशीको भनाइ छ । नियन्त्रण र उपचारका लागि कहीँ पनि औषधि र किटको अभाव छैन”, उनले भने, “प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।”

 

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गजेन्द्र विष्टले नगरपालिकाले आन्तरिक स्रोतबाटै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।

 

“प्रभावित क्षेत्रको पहिचान गरी केही वडामा लार्भा नष्ट अभियान चलाइसकेका छौँ”, उनले भने, “त्यसका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ ।” त्यसैगरी यहाँको महाकाली अञ्चल अस्पतालले पनि आइतबार डेंगु परीक्षणका लागि आवश्यक ‘किट’ खरिद गरेको छ । लामो समयदेखि किट नहुँदा अस्पतालमा डेंगु परीक्षण गर्न सकिएको थिएन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार