• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती

काठमाडौं । शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्।

 

मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिएका छैनन। अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।

 

मन्त्रालयका अनुसार शिक्षाका सहसचिवको दरबन्दी रहेको भाषा आयोगको सचिवमा उपसचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा उपसचिव चन्द्रकान्त भुसाल, शिक्षक किताब खानाको महानिर्देशकमा दिनेश श्रेष्ठ, राष्ट्रिय युवा परिषद्को सदस्य सचिवमा डा.बाबुराम ढुंगाना र शिक्षाका लागि खाद्य कार्यक्रमको निर्देशकमा उपसचिव डा. भोजराज काफ्लेलाई जिम्मा दिइएको छ।

 

‘यस्ता कार्यालयमा सहसचिवलाई जिम्मा दिनुपर्नेमा मन्त्रीको सचिवालयले उपसचिवलाई मुख्य जिम्मेवारी दिइरहेको छ।’  हाल १५ मध्ये सहसचिवद्वय कमल पोखरेल र विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले दरबन्दीअनुसार सहसचिव र उपसचिवलाई व्यवस्थापन गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए।

 

उनले भने, ‘समस्या देखिएको छ, अबको केही दिनमै समाधान गर्ने तयारीमा रहेका छौं।’ भर्खरै मन्त्रालयमा हाजिर भएका सचिव दाहालले देशैभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा एकाइलगायत शिक्षासँग सरोकार राख्ने निकायसँग छलफल गरेर तत्काल पद अनुसारको दरबन्दी पूरा गर्ने बताए।

 

‘स्थानीय तहमा सरुवा भइसकेका तर मन्त्रालयमै र अन्य निकायमा हाजिर भइरहेका कर्मचारीलाई तत्काल सरुवा भएको स्थानीय निकायमा हाजिर गर्न जान निर्देशन दिइसकेका छौं, अबको केही दिनमा उहाँहरु सम्बन्धित निकायमा जानुहुनेछ।’ –सचिव दाहालले भने।

 

शिक्षा सेवाका सहसचिव निर्देशक रहने सातैवटा प्रदेश शिक्षा निर्देशनालयमा उपसचिव प्रमुख भएका छन्। प्रदेश शिक्षा निर्देशनालयमा सहसचिवलाई प्रमुख बनाउने निर्णण गरेको सरकारले हालसम्म उपसचिवकै जिम्मेवारीमा कार्यालय सञ्चालन गरिरहेको छ।

 

सरकारले प्रदेश–१ को प्रदेश शिक्षा निर्देशनालयमा उपेन्द्रप्रसाद दाहाल, २ मा चूडामणि फुँयाल, ३ मा चन्द्रप्रसाद लुइँटेल, गण्डकी प्रदेश शिक्षा निर्देशनालयमा तिलक सिलवाल, ५ मा मनोज गैरे, कर्णाली प्रदेशमा भक्तबहादुर ढकाल र सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालयमा दुर्गादत्त विष्टले जिम्मेवारी सम्हालेका छन्। प्रदेश नं १ का प्रमुख उपेन्द्रप्रसाद दाहालले राजीनामा दिइसकेका छन् । नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार