• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

सिस्नु शहरी भान्साको पनि परिकार

उदयपुर । केहीवर्ष अघिसम्म गाउँघरमा संगुरको चारो र गाईभैंसीको खोलेको रुपमा प्रयोग हुने सिस्नु हिजोआज शहरका भान्साको परिकार बन्न थालेको छ । सिस्नु उच्च रक्तचापसहित विभिन्न रोगको औषधी हुने थाहा पाएपछि यसको व्यापार शहरका डिपार्टमेन्ट स्टोरबाटै हुन थालेको हो ।

 

उदयपुर सदरमुकाम गाईघाटमा रहेका डिपार्टमेन्ट स्टोर र अन्य पसलहरुमा विक्रिका लागि राखिएको प्रसोधित सिस्नुले उचित बजार पाएपछि जिल्लाको पहाडी भेगमा पाइने सिस्नुको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । सिस्नुले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पु(याउने भएकाले यसको संरक्षणका साथै बजार प्रवद्र्धन सुरु गरिएको हो ।

 

जिल्लाको साउने, खाबुँ, रौता, पोखरी, बाँस्बोटे, चिलाउने, मयंखुलगायतका ५ दर्जनभन्दा बढी पहाडि गाउँमा सिस्नुलाई खेतबारीमै संरक्षण गरी उत्पादन गर्न थालिएको हो । जिल्लाकै पहिचानको रुपमा अगाडि बढाउने र ग्रामिण महिलाको रोजगारीको माध्यम बनाउने उद्धेश्यले संरक्षण, उत्पादन र विक्रि थालिएको संलग्न महिला उद्यमीहरुले बताएका छन् ।

 

‘सिस्नुको व्यवसायिक खेती गर्दा गरिवी निवारण, आत्मनिर्भरता र जिविकोपार्जनमा टेवा पुग्ने देखेर काम सुरु गरेका हौं’ रौताका गंगाबहादुर मगरले भने, ‘सुकाइएको सिस्नु औषधि र तरकारीको लागि विक्रि भइरहेको छ ।’ सिस्नु गाउँका महिलाको आय आर्जनको गतिलो माध्यम बनेको उनले बताए ।

 

सिस्नुलाई बजारीकरण गर्दै महिलाको आम्दानीको स्रोत बनाउने उद्धेश्य राखिएको स्थानीय गेसबहादुर आले मगरले जानकारी दिए । उनका अनुसार कृषकहरुले टिपेर ल्याएको काँचो सिस्नु सुकाएर मेसिनबाट पिसान गर्ने गरिएको छ । ‘पिसानपछि प्याकिङ गरेर विक्रिका लागि तयार गर्ने गरेका छौं’ उनले भने, ‘यसरी उत्पादित सिस्नु बजारमा प्रतिकेजी ५ सय रुपैयाँका दरले विक्रि हुँदै आएको छ ।’

 

सिस्नु विषेशगरी उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्यास्ट्रिकलगायतका विरामीलाई उपयोगी हुने उनको भनाई छ । सिस्नुको गुणबारे जानकारी हुन थालेपछि गाईघाट र आसपासका क्षेत्रका सर्वसाधारणले पनि सिस्नुको धुलो प्याकेट खरिद गरेर प्रयोग गर्न थालेको गाईघाटका युवराज बस्नेत बताउँछन् । ‘सिस्नु मधुमेहका रोगीका लागि पनि उपयोगी हुने थाहा पाएर नियमित खाइरहेको छु’ उनले भने, ‘केही समय अघिसम्म गाउँघरमा सिस्नु खाने मान्छेलाई हेप्ने चलन थियो, तर आजभोलि यो शहरीयाकै भान्सामा पाक्न थालेको छ ।’ कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार