• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

ओस्कारले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

काठमाडौं । लामो समयदेखि फिल्मको ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन पाठनमा सहकार्य गर्ने भएको छ । ओस्कार कलेजले केही दिनअघि भारतको सत्यजित रे फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट  र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता गरेको हो । 

 

ओस्कार कलेजको तर्फबाट एकेडेमिक निर्देशक मनोज बाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीलाई भेटेका थिए । एकेडेमिक निर्देशक मनोज बाबु पन्तले भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी गराए ।

 

‘हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ । सिनेमा पढाउने सवालमा उनीहरुको इतिहास लामो छ । त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं,’ उनले भने । पन्तका अनुसार सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको पनि बताएका छन् । 

 

एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिृप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए । ‘सरकारी तवरमै पनि द्धिपक्षीय सम्बन्ध विकास गर्ने कुरा भएको छ । यसले समग्र नेपाली फिल्म क्षेत्र नै लाभान्वित हुन सक्छ भन्ने लागेको छ,’ श्रेष्ठले भने ।   

 

पुनामा भएको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट  र दिल्लीमा भएको नेसनल स्कुल अफ ड्रामा सरकारी कलेज हुन् । ओस्कार कलेज नेपालको एक मात्र सरकारी सम्बन्धन प्राप्त कलेज हो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार