• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019
डबली

प्रेमको वेग

बाहिर वेगले हावा चलिरहेको छ । मेरो मनभित्र उसैगरी तोडले हुरी चलेको छ । असोजको महिना थियो । तर,  म आफूलाई चैतको हुरीले वडारे जस्तै रित्तो र उजाड ठानिरहेको थिए । कोठामा एकोहोरिरहेको थिए  । छोरा खाना खान आइज । आमाको स्वर सुनेर मेरो एकाग्रता भंग भयो । हत्तपत्त ओठ पुछ्दै म भान्सा कोठा तिर थिए । यो केटो लफुङ्गो भयो । अब त जागिर खानु पर्छ । मैले मेरो साथीलाई कुरा गर्देको छु इलाममा, त त्यहाँ जानु है केटा । बुवाको कुरा भन्दा पनि आमाले लगाउनु भएको साडीले मेरो मनलाइ कब्जा गरिरहेको थियो । ए सुन्दैछस म के भन्दैछु ।

 

बुवाको कडा बोली सुनेपछि मेरो मुखबाट एउटै शब्द निस्कियो, हजुर ।


कति कराउनुहुन्छ छोरालाइ । पढिनैरहेको छ। जागीर खाने बेला हुँदैछ, बिस्तारै गर्छ नी । जागिर खान्छ, बिहे गर्छ बुहारी ल्याएर हामीलाई सुख दिन्छ । आमाले बिहेको कुरा गरिनसक्दै म जुरुक्क उठेर आफ्नै कोठा तर्फ गए । मानौ मेरो लागि बिहे कुनै कहालीलाग्दो शब्द थियो । त्यसपछि भान्साकोठामा अलिअली के खासखुस भइरहेको थियो, अहं मैले बुझिन । दशै नजिकिरहेको थियो। आमाको कतै बाहिर घुम्न जाने र केहि दिनपछी फर्किने कुरा सुनेर म खुशीले रमाउन थाले । उजाड मनमा हावाको वेगले आकाशमा चङ्गा उडे झै भइरहेको थियो मेरो मन । तर बुवा चाहनुहुन्थ्यो, म पनि उहाहरु सगै जाउ । म आफै अन्योलमा परे । अब के बाहाना बनाउने ? के भनेर जान्न भन्ने ?

 

बुवा मेरो त परिक्षा आएको छ । अनि साच्चै तपाइले इलाम जानु पनि भन्नू भएको होइन र । आत्तिएर निस्केको वाक्य नै यहि थियो। भोली बिहान, आफ्नो ख्याल गरेर बस्नु भन्दै बुवाआमा हिड्नुभयो । पर पुगेसम्म हेरिरहे । अब मेरो खुसिको सिमा नै थिएन । हत्तपत्त कोठा भित्र पसे । नाच्न थाले । साच्चै त, मलाइ नाच्न खुब मनपर्छ त्यो पनि केटीको भेषमा । ऐना हेरे, आफै सग आफै लजाए । नाच्नु भन्दा सुरुमा सम्झे चटपटे । चटपटे खान खुब मनपर्ने मलाई । चटपटे बनाए, खान मात्र के लागेको थिए सम्झनामा आयो उ । उ अर्थात सौगात । म र सौगात सगै पढ्थ्यौं । स्नातक दोस्रो तह । चटपटे मुखमा भन्दा सुरुमा फोन कानमा पुर्याए । फोन थियो सौगातलाई । चटपटे खान आउँदैनौ । आज घरमा एक्लै छु । मैले आफ्ना कुरा नभन्दै उताबाट जवाफ आयो, आज भ्याउँदिन म । सबै खुसी छताछुल्ल भएर पोखिए जस्तै महशुस गरे । खिन्नता भए पनि चटपटे खाँदै आफ्ना रहरहरु मनमनै बुँदागत गर्न थाले ।

 

एक : छोरी मान्छेले जस्तै श्रृंगार गर्ने ।


दुई : छोरी मान्छेको भेषमा घुम्न जाने ।


तीन : सौगात सग शारीरीक सम्बन्ध राख्ने ।

 


एउटा शब्दले स्मरणमा हजारौं अविस्मरणीय पलहरु याद आइरहेका थिए ।

 


हरेक याद , याद बनेर आइरहेका थिए। याद, उसको याद प्रेमको याद।  सौगात र मेरो प्रेम, जहाँ जीवन सगै जिउने मर्ने सपनामा हामी बांचिरहेका थियौं। आमाले भन्दा कहालीलाग्दो शब्द, बिहे। उसको मुखबाट सुन्दा सबैभन्दा प्रिय शब्द जस्तो लाग्थ्यो । उ सँग बिहे गर्ने कुरा सम्झदा म लाजले भुतुक्कै हुन्थें । लजाउँदै भएपनि सपना बुनिरहेकी थिए, उ सगँको । हाम्रो सपनामा हाँसो मात्र कहाँ थियो र । कल्पनामा मग्न मेरो मन अनि खुशी देखिएको मुहारमा कालो बादलले ढपक्क ढाक्यो । त्यसपछि त्यही त हो, मेरो रुन्चे बानी । अचानक ढोकाको बेल बज्यो । म भावुकताबाट झस्किए । ढोका खोल्न गए । जब ढोका खोले म एकछिन त टोलाइरहे, छक्क परे । मेरो अगाडि थियो, मेरो खुशी अर्थात सौगात । हातमा बुके बोकेर कोठा भित्र सरप्राइज भन्दै छिरेको सौगातलाइ मैले बेहोसी मै अंगाले र बरबराउन थाले, म तिमी बिना बाच्न सक्दिन राजा । मेरो भावुकताले सौगातलाइ हास्न दिएन सायद । उ रनभुल्लामा पर्यो । बाहिरी वातावरण जती शान्त थियो, त्यति शान्त थिएन सौगातको मन । न त मेरो नै । मेरो आँसु पुछि दिँदै उसले मलाई सोधिरहेथ्यो, के भयो सानू ? म छु त । उसले  भन्थ्यो, सानू †  तर मेरो नाम भने अनुपमा । घरमा बुवाआमाले अनुपम भनेर बोलाउँदा झुक्किएर भनिरहन्थे, मेरो नाम अनुपमा हो । मलाई सौगातले भने अनुपमा नै भन्थ्यो तर मायाले धेरै सानू भनेर बोलाउँदा म खुसी हुन्थे ।  ए † साच्चै म भन्दै थिए, उसको म छु नी, वाक्यले मलाई अलिक नर्मल बनायो । हेर त, तिमिलाई मनपर्ने बुके । सायद उ मलाई खुशी बनाउन खोजिरहेको थियो । म बुकेतर्फ आँखा डुलाउन थाले अनि खुसी भए । सोचे, उसलाई मेरो खुशीको कति धेरै परवाह छ । सौगात चियाको भोगी । आफू चिया नपिउने कुरा भनिरहँदा जस्तै जिस्क्याइरहन्थ्यो, त्यो झापाली के झापाली जो चिया नै पिउँदैन । सधै आउने बित्तिकै चिया खोज्ने सौगात , शान्त स्वभावमा बसिरहेको थियो । मानौँ कि, उसले चिया संग ब्रेकअप नै गर्यो ।  मैले चुपचाप भान्सामा गएर चिया बनाएर ल्याए । अरुबेला चिनी पुगेन, चिया पत्ती पुगेन भन्ने उ, बिना प्रतिक्रिया चिया पिइरहेको थियो । सधै चियामा कमेन्ट गर्ने उसको कुनै प्रतिक्रिया नपाउँदा निराश भइरहेको थिए । मेरो नजिक आएर सानो स्वरमा भन्यो, चिया मीठो छ, तिमी जस्तै । अनि खोइ त मलाई चटपटे । सौगातले उ सँग रिसाउने बाहाना आफै सम्झाइदियो । मैले पनि घुर्की देखाउन छोडेको थिइन । म रिसाए पनि उसको सामिप्यताले मलाई रिसाइराख्न कहिले पो दिएको थियो र । म मुस्कुराएको देखेर मुस्कुराइरहेको थियो उ पनि । उसको मुस्कुराहट सँगै नजिकै बसेर सुनाइरहेको थिए आफ्ना रहरहरु । कोठा वरिपरि आँखा डुलाइरहेको थियो सौगात । उसका आँखाहरुले मेरो सपना पूरा गर्न खोजिरहेका थिए । मेरो रहरले म छोरी मान्छे जस्तै सिंगारिए । उसको निलो सट र मेरो निलो साडी हामीलाई सुहाइरहेको थियो । नियालेर ऐनामा एकअर्कामा लजाइरहेका थियौ । लागिरहेको थियो, म उसको बेहुली हुँ, अनि उ मेरो बेहुला । कमी थियो त केवल, मेरो सिउँदोमा उसको हातको सिन्दुर । त्योबेला बाहिर हावा आफ्नै गतिमा चलिरहेको थियो । सुर्य डाँडापारी लुकिसकेको थियो । कतै कतै कुकुर कराएको आवाज आइरहेको थियो । सुनिरहेका थियांै, एकअर्काको मुटुको ढुकढुकी । त्यति बेलासम्म साझ परिसकेको थियो । खाना खाने भन्दा पनि उसँग बाहिर घुम्न जाने रहरले मलाई पछ्याइरहेको थियो । उसले हुदैन भन्दा भन्दै पनि मेरो जिद्दिपनको अगाडी उसले फेरि घुँडा टेक्नै पर्यो । हामी बाहिर निस्कियांै । यो रात कहिल्यै नजाओस्, मनमा सोचिरहेकी थिए । आकाशका लाखौं ताराको थोरै प्रकाश पनि मलाई चन्द्रमाको उज्यालो जस्तो लागिरहेको थियो ।  प्रेमिल स्वतन्त्रतामा मग्न भएर हिडिरहेका थियांै । त्यो समय उसको र मेरो जिन्दगी कै सुन्दर समय थियो । सधै जस्तै मेरो खुशीमा कालो बादल अधिकार जमाउन न आएको कहाँ हो र । त्यो राती एक्कासी हामीलाई कसैले देख्यो । उसको लाइटको प्रकाशले मेरो सबै खुशी छिनभरमै खोसेर लग्यो ।  तर, त्यो को थियो अह, हामीले देखेनौ ।  आत्तिदै कोठामा पुग्यौ ।  म रुन थाले । सौगातले सम्झाइरहेको थियो, भनिरहेको थियो, म छु नी । फेरि सौगातको त्यही वाक्यले मलाई शान्त बनायो । सुत्ने तरखरमा थियांै, सौगातको फोन बज्यो । फोन थियो , बुवाको । हामीले एकाअर्कालाई हेराहेर गर्यौं । सौगातले फोन उठाउने बित्तिकै उताबाट आवाज आयो, घर छिटो आइज, आमा साह्रै छे । सौगात आत्तियो, बुवाले कोही मान्छेलाई बाइक लिएर पठाउँछु भनेछन् क्यार† उसले ठेगाना दियो सुरुङ्गा । म निशब्द बनिरहे । उ पनि मौन थियो । हामी बिचको लामो मौनता भङ्ग भयो, बाइकको आवाजले । उसलाई लिन आएको रहेछ । को थियो अनुहार देखिन । सौगातले न त गए भन्यो, न मैले जाउ भन्न नै सके । मौनता बिच नै उ गयो । आँखाले देखिन्जेल हेरिरहे । त्यो रात मलाई निन्द्रा पटक्कै लागेन । भोलिपल्ट इलाम जानू थियो । बुवासँग बनाएको बाहाना सम्झे अनि इलाम  जाने तरखर गरे । मलाई मनपर्ने क्रप टिसर्ट लगाए, उसलाइ मनपर्ने पाइन्ट लगाए ।

 

इलाम इलाम गाडीको सहयोगी कराउँदै मान्छे खोजिरहेको थियो । तेसैमा चढें । सबैमान्छे एकटकले मलाई नै हेरिरहेका थिए, तर मेरा ध्यान फोनमा थियो । फोनको पर्खाइले म गलिसकेको थिए । तर सौगातको फोन आएन । फोन नआउने सौगातमा यादहरु मेरो मानसपटलमा पटकपटक ठोक्किरहेका थिए । फेरि स्मरणमा आए तिनै दिन, हामी प्लस टु देखि सगै कन्काइ कलेज बिर्तामोडमा अध्ययन गर्थ्यौं । सौगातले कहिले सुटुक्क मेरो मन चोर्यो थाहा थिएन ।  मेरो मन चोर्ने मान्छेको मन, मैले चोरेकी थिए, कि थिइन होला खोइ थाहा थिएन । मन पनि खोइ कस्तो हो, कसैले चोरिदिँदा पनि खुशीले रमाउने । आफ्नो चोरिएको दिलसँगै जानलाई उ बसेको बेन्च पछाडी गएर बस्थे । उसले क्लासमा फेसबुक चलाइरहँदाको च्याट गर्दै होला भनेर मलाई तन्की तन्की किन हेर्न मन लाग्थ्यो कुन्नि । जब उसले मलाई याद गर्थ्यो । पेनले केही लेखे जस्तो गरिदिन्थे । थाहा थिएन मलाई, हामीमा एउटै भावना थियो भन्ने । त्यसैले उसंग सधै कलेज आउने सिमा देखि मलाई खुब रिस उठ्थ्यो । उनीहरु सगै आउथे, सगै जान्थे, सगै खाजा खान्थे । मन न हो सम्झाएर के मान्थ्यो र । एकदिन त केहि गर्दा नसकेर मैले सिमालाई तिमी उसको प्रेमिका हो भनेर सोधी त हाले । उ मेरो प्रश्नको उत्तर नदिइ कक्षाकोठा तर्फ लागि । सायद सुनाइछे क्यार, मलाई सौगातले म्यासेज गर्यो । म डराउन थाले । बोल्दै गएपछि पो भन्यो, उ मेरि बहिनी हो । सानिमाकी छोरी । म धन्न ढुक्क भए । त्यससँगै उसले थप्यो, म पनि तिमिलाइ मन पराउछु । त्यो दिन म मा खुशीको सिमा थिएन । अनि हामीसँगै बस्थ्यौ । मैले होमवर्क नगरेर सरको गाली खाँदा उसले भन्थ्यो, म छु नी ।  म पनि तिमी छौ नी होमवर्क गर्देउ न भनेर जिस्क्याइरहन्थे । त्यो दिनदेखि हाम्रो प्रेमकथा सुरु भएको थियो । ओइ, हेर्न त्यहा छक्का । गाडीमा खोइ कसले मलाई नै इंगित गरेर भन्दा म सौगातको सम्झनाबाट झस्किए । म समलिंगी हु तर मलाई छक्का भन्दा खुब मन दुख्यो ।  कुनै प्रतिक्रिया जनाउन नसकेर मौन नै बसे । इलाम पनि पुगिएछ । इलाम बसपार्क ओर्लिए । आफ्नो भेष केटाको जस्तै बनाएर जाने सोचेर सोनाम होटलमा पसें, लुगा फेरें अनि झरें मानव अधिकार मन्च नेपालको अफिस । त्यहाँ फारम भर्नेको ठूलो भिड भए तापनी बाबाको साथी त्यही भएकाले मलाई फारम भर्न लाइनमा उभिनु परेन । सुरुमै थियो नाम के लेखुम अनुपम या अनुपमा ? दोधारमा परें । तर, लेखिदिए, अनुपम । लिङ्ग भर्नुस १० महिला । २०पुरुष । अरु अप्सन थिएन । न म महिला हुँ, न पुरुष । म संग पुरुषको लिङ्ग भए पनि भावना महिलाको थियो । यो देखेर मलाई फारम भर्न मन लागेन । फारम नभरी हिडें । पछाडी बाबाका साथीले बोलाइरहेका थिए तर मैले सुने नसुने झै गरें ।  त्यही कुरा सम्झिदै घर आउन गाडी चढे । सौगातलाई फोन ट्राइ गरे लागेन । गाडी चढेको लगभग तीन घन्टामा झापाको चारआली आइपुगें । सौगातको घर धुलाबारी । धुलाबारीको गाडीमा चढें । खोज्दा खोज्दा गरेर सौगातको घर भेटें तर उसलाइ भेट्न सकिन ।

 


अब झन ठूलो हुरी चल्यो मेरो मनमा । बिरक्तिएर घर फर्के । त्योदिन पनि त्यतिकै सौगात कै पर्खाइमा बित्यो । भोलिपल्ट बिहानै, घर बडार्र्दैै थिए । बुवाआमा आइपुग्नु भयो । बुवाको अनुहारमा रिसको आगो दन्किएको प्रष्ट हुन्थ्यो । आमाको अनुहारमा निराशाको कालो वादल मडारिएको देखिन्थ्यो । केही नबोली मलाई बुवाले दुईतीन थप्पड हिर्काउनुभयो । किन कुट्नु भयो, मैले कारण थापाइन । तैले त हाम्रो इज्जत माटोमा मिलाइस । त जस्तो छोरो जन्मिनु भन्दा त गर्भमै मर्नु नी । तैले संसारमा कोहि केटी पाइन्स । बल्ल बुझे बुवाले पिट्नुको कारण । अस्ति राती देख्ने मान्छेले बुवालाई सुनाइदिएछ । मैले भनिरहे, म सौगात बिना बाच्न सक्दिन ।  तर बुवाआमाले मेरो बिहे केटी खोजेर गर्दिने निर्णय गर्नुभयो ।  झन फसादमा परें म । महिना बित्यो, बिहेको लागि केटी पनि खोज्नुभएछ । तर त्यतिका समयसम्म पनि सौगात बेखबर थियो । सुने, कलेज पनि गएको थिएन रे । न फोन, न फेसबुक । सिमालाई सम्झें तर उसंग नी सम्पर्क हुन सकेन । केही हुदैन, म छु नि । भन्ने सौगात, सबैथोक हुँदा मसंग थिएन । विवाह निश्चित भयो । केटीको अनुहार फोटोमा देखेको थिए । हामीलाई किन भेट गराइएन सायद मैले मेरो अस्तित्व बारे उसलाई भन्छु भनेर होला । तर, उसले किन बुझ्न चाहिन मलाई । के उसलाइ मेरो अस्तित्व बारे थाहा थियो ? प्रश्न आफैलाइ गरें उत्तर दिन उ थिएन म संग ।

 


मंसिर १० गते । सौगात र मेरो प्रेम सुरु भएको महिना र गते । त्यही दिन मेरो बिहे हुने पक्का भयो । केटी शनिश्चरे गाउँ कि । म बेहुलो बनेर गइरहेको थिए । उताबाट पनि त्यहि गाउँमा बिहे कै लागि कोहि आइरहेको थियो । जब हामी आमने सामने भयौ । त्यो बिहे अरु कसैको नभएर सौगातको थियो । हामीले एकअर्कालाइ हेरेर मौन हुन बाहेक के भन्न सक्थ्यौ र । तर मलाई धेरै प्रश्न गर्न मन थियो । उसको पनि त्यही गाउँकी केटीसंग बिहे । यो कस्तो संयोग । बिहे गरिन्जेल मैले मात्र सौगात सम्झें । सिन्दुर लगाइदिरहँदा पनि सौगात नै सम्झें, बिहे भयो । घर फर्कियौ । बिहेको पहिलो रात म श्रीमती सँग विछ्यौनामा हुनुपर्ने सोफामा थिए । उनले त्योबेला एउटै वाक्य बोलिन, मान्छे किन अरुको भावना संग खेल्छन् । किन बुझ्दैनन । यती भनेर उनी ओछ्यानमा पल्टिए ।  उनका शब्दले मैले थाहा पाए कि, उनी मलाई आफुसँग चाहिरहेकी छिन । तर उनको कुरा भन्दा धेरै मलाई सौगातको यादले सताइरहेको थियो । मैले केही गर्दा सकिन लगभग रातको १२ बजे कोठाको झ्यालमा डोरी बाने र त्यही बाट ओर्लेर भागें । एउटा चिठी छोडिदिए । माफ गर मलाई । म सौगातको मात्र हुन सक्छु । अनि सौगात खोज्दै रातको समय म हिडें । म मा हिडाइको यस्तो वेग थियो कि म क्षणभर मै बिर्तामोड पुगेछु । बिर्तामोडमा त्यो सुनसान रात एक्लै हिडिरहेको म, परबाट कोहि आइरहेको देखें ।  म डराए । जब त्यो छायाँ म सग नजिकियो, त्यो अरु कोही नभएर सौगात थियो । हामीले केही नबोली एक अर्कालाई अंगाल्यौं । उसले सबै थोक सुनायो  । त्यो रात आमा बिरामी हुनुभएको भन्ने खबर झुट रहेछ । हाम्रो सम्बन्धको बारे थाहा पाउनु भएको थियो रे । हामीले यहाँबाट भागेर कतै जाने निर्णय गर्यौं । पछि सुने, मैले लेखेको त्यो चिठी उसले पढेर खुसी भएकी थिइ रे । म जसरी भागेको थिए । उसको चाहना पनि मलाई भगाउने नै रहेछ । उ पनि त्यहि राती भागिछे । उसको जोडी कोहि नभएर, सौगातले बिहे गरेकी केटी थिइ । अनि उसले बोलेको वाक्य फेरि मेरो कानमा आएर गुन्जिरह्यो ,मान्छे किन अरुको भावनासँग खेल्छन् । किन बुझ्दैनन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार