• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

शित लहर 

कतै सडक छेउबाट 
टायरको टर्रो गन्ध फैलिदै फैंलिंदै 
राजधानीको वास्नामा हमला गर्यो भने 
धुवाँको मुस्लोले चिसो कुहिरोसंग 
लाप्पा खेल्दै आकाशको सिंहासन ताकेको नजर भयो भने  
झुक्किएर पनि सैनिक नपठाउ सरकार !
म यही देशको नागरिक 
सत्तरी बर्षिय जितेन्दर कापडी 
जीवनको चिसो बरगाछीमुनि 
थोत्रो टायर बालेर 
शित लहर तापिरहेको हुनेछु । 

 

यही बरगाछी मुनिबाट 
थुप्रै टायरको गन्ध खेपेको छु मैले, प्रजातन्त्रको 
थुप्रै धुवाँ वेहोरेको छु लोकतन्त्रको 
अनि ठोसेको छु आगोको लप्कामुनि 
गणतन्त्रको जिउँदो अगुल्टो 
तिमी कहिले लाठी लिएर आयौ 
आगो निभाउन यही सडकमा 
कहिले बेसोमत बन्दुक पड्काउँदै आयौ 
र, तर्सायौं बरगाछीमा बास बसेका चराहरुलाई 
तिमीले फालेर गएको अश्रु ग्याससंगै बगेर गयो– 
अभिभावकहीन थुप्रै बचेराहरुको आँसु 

 

हो, कतै सडक छेउबाट 
धुवाँको नमिठो गन्ध फैलियो भने 
दमकल नपठाउ सरकार !
सदियौंदेखि खण्डहर यो बस्तीमा 
एक्लो जितेन्दर कापडी 
त्यातिएका सपनाको अन्तिम पानाहरु जलाउँदै 
शित लहर तापिरहेको हुनेछु 


 
म उही हुँ– जसको काँधमा तिमीले 
सजाएका थियौं कुनैबेला विद्रोही सपना  
थापेका थियौं छातीमा आश्वासनको मतपेटिका 
र, लिएर गएका थियौं हाम्रो ल्याप्चे सपना 
बरगाछीमा हुस्सु फाट्छ र आकाश खुल्छ भन्ने 
आशामा हामी त्यसै दंग भयौं 
तर, शितलहर जारी रह्यो । 

 

हो, कतै सडक छेउ 
बलिरहेको धिपधिपे आशामा 
आगोको लप्का नाचिरहेको आभास भयो भने 
फायर विग्रेड नपठाउ सरकार !
जीवनमा कहिल्यै नजितेको 
यो जितेन्दर कापडी 
वाल्ने चिज केही बांकी नभएपछि 
फोटो सहितको मतदाता परिचय पत्र र नागरिकता 
जलाएर 
शितलहर तापीरहेको हुनेछु ।  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार