• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

मानस राजको ‘मै हुँ हिरो’ सार्वजनिक (भिडियो)

काठमाडौं ।  करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो-भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ ।

 

फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियोमा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।


पृथक शैलीको पहिलो गीतका कारण नै सांगीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । ‘मै हुँ हिरो’ शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् ।


यसपटक पनि गायक मानस राजले डान्सिङ बिट मै आधारित गीत तयार पारेका छन् । गीतका शब्दले नै हरेक व्यक्तिमा आत्मविश्वास झल्काउँछ,  अनि भन्छ- ‘मेरो लागि मैं हुँ हिरो ।’ प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।


‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ,' गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।

 

संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा शुभम भुजेलको कोरियोग्राफि छ भने ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार