• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

सम्बन्ध बिच्छेदका घटना बढ्दो

उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ ।

 

जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा तिन वर्षमा ५३७ सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । जिल्ला अदातलमा आर्थिक वर्ष ०७३/०७४ मा ७२१ मुद्धा दर्ता भएकोमा १३६ वटा सम्बन्ध बिच्छेदको रहेको  छ । त्यसैगरी आर्थिक वर्ष ०७४/०७५ मा ८३० मुद्धा दर्ता भएकोमा १५८ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको अदालतका नारायण थापाले जानकारी दिए । त्यसैगरी आर्थिक वर्ष ०७५/०७६ मा ९४२ मुद्धा दर्ता भएकोमा २४३ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको छ । चालु आर्थिक वर्ष ११५ वटा मुद्धा मध्ये ३० वटा सम्बन्ध बिच्छेदको रहेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

 

सम्बन्ध विच्छेदका घटना जिल्लामा बढ्दो छ । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको छ । सम्बन्ध विच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन संख्या यो भन्दा अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा २० वर्षीय युवती देखि ३५ वर्षीय युवतीले सम्बन्ध बिच्छेद गरेको तथ्याङले देखाउँछ । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्ध विच्छेदको घटना दिनानुदिन बृद्धि हुँदै गएको देखिन्छ ।

 

पछिल्लो पटक नयाँ मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा पुरुषद्धारा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्ने क्रम बढ्दै जान थालेको छ । आफु बैदेशिक रोजगारमा रहेको बेला श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको जस्ता आरोप लगाई सम्बन्ध विच्छेदका लागि मुद्दा लिएर अदालत जाने गरेका छन् ।

 

यसरी सम्बन्ध विच्छेद गर्ने पुरुषहरु मध्ये अधिकांश बैदेशिक रोजगारमा घर बाहिर हुने देखिने गरेको बताइन्छ । आत्मनिर्भरताको खोजी सम्बन्ध विच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्ध विच्छेदपछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ ।  

 

महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्ध विच्छेद बढ्दै गएको एक महिला अधिकारकर्मिको भनाई रहेको छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमानको अत्याचार बढेपछि भने अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेको उनले बताइन । राजधानी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार