• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

भक्तपुरमा एक सातामा ९९ डेङ्गु बिराम ,सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध

भक्तपुर । देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए ।

 

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए ।

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए ।

 

उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ । 


एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामका लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फूल पार्ने भएकाले त्यस्ता स्थानमा सफाइ गर्नुपर्ने हुन्छ ।

उक्त जातको लामखुट्टे प्रायः दिउँसै टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगाले  ढाक्नुपर्छ ।

 

डेङ्गु फैलाउने लामखुट्टे भुइँदेखि बढीमा तीन फिट माथिसम्म मात्र उड्न सक्ने भएकाले खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव छ ।

 

डेङ्गु रोग लागेका बिरामीलाई जाडो हुनाका साथै उच्च ज्वरो आउने, जीउ तथा हाडजोर्नी बेस्सरी दुख्ने, प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने चिकित्सकहरु बताउँछन् ।


 डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार