सरकार विरुद्ध भ्रम छर्नेलाई कहिले फाइदा हुँदैन : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गराउने प्रयास भइरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाइदा नपुग्ने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै खतिवडाले आफूसँग चामल भए पनि बेच्न नसकेको टिप्पणी गरे । तर, भ्रम छर्नेहरु भने पिठो बेचेर हिँडिरहेको दाबी उनको छ ।
खतिवडाले गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको दाबी गर्दै सबै क्षेत्र स्वस्थकर गतिमा अघि बढिरहेको बताए । खतिवडाले भने, 'केही तत्वहरु सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको समृद्धिको तथ्यांकलाई मिथ्या भनेर रिपोर्टिङ गरिएको रहेछ । यसले भ्रम छर्नेहरु निकै सक्रिय छन् भन्ने देखिन्छ ।'
मुलुकमा लगानीको वातावरण नबनोस् र हाम्रो पिठो फेरि बिकोस् भन्ने प्रवृत्ति रहेछ । नेपाल सरकारले दिएको तथ्याङ्क सही छैन यो ढाँटेको हो । निजी क्षेत्रले प्रमाणिकरण गरेर दिएको तथ्याङ्क पनि शंकाको घेरामा राख्ने र त्यसका लागि लबिङ गर्ने प्रवृत्ति पनि देखिएको छ । आफ्नै अर्थतन्त्र, आफ्नै मुलुकलाई कमजोर देखाउने परिपाटीले हामी एउटै डुङ्गामा सवार गर्ने को चाहिँ बचौँला रु,’ अर्थमन्त्री खतिवडाले भने, ‘हाम्रो आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कोहीले पनि नगरौँ ।’
खतिवडाले पुँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायलाई पनि निर्देशन दिए । उनले भने, 'तपाईंहरु आफ्नो काम गर्नुस् । अर्थ मन्त्रालय तपाईंहरुजस्ता नियामक निकायको पनि नियामक निकाय बन्नु नपरोस् ।'
उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरे । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको बताए ।
प्रतिकृया दिनुहोस