• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

ओझेलमा परेका दृष्टान्तहरू.....

त्यस वर्ष गर्मीयाममा झन्डै छ महिनाका लागि पोखरामा बसेका थियौं । त्योबेला घरको कामकाजमा हामीलाई मद्दत गर्न, बर्दियाबाट एकजना, झुम्की नाम गरेकी स्थानीय पाको महिला हाम्रो साथमा थिइन् । बर्दियाको खेत–जग्गा, हेर–विचारमा सहयोगीका रुपमा उनीहरूसँग लामै, अझ भनौ, पुस्तैनी चिनजानका नाताले पोखरा बसाईको केही अवधिका लागि उनी हामीलाई सघाउन, त्यहाँ आईपुगेकी थिइन् ।

 

हुन त उनको परिवार केटा–केटीका बारेमा मलाई केही खासै जानकारी थिएन। तर मलाई  एउटा अविस्मरणीय र उल्लेखनीय कुरोको अनुभूति भइरहेको थियो त्यतिबेला । दिनमा दुई पटक बिहान र साँझ, बर्दियाबाट, झुम्कीका लागि मेरो मोबाइलको घन्टी बज्न चुक्दैन थियो । यो नियमित थियोे । उनीहरूको आफ्नो स्थानीय भाषामा हुने त्यो वार्तालाप बुझ्न गाह्रो पर्दथ्यो। तर झुम्कीको भाव, अभिव्यक्ति, उसको अनुहारमा छचल्किने प्रसन्नताबाट , फोनको अर्कोतर्फ पक्कै पनि उनको मनमा बास गर्ने, कोही प्रियपात्र भएको चाहिँ स्वतः बुझ्न सकिन्थ्यो । त्यस्तो नियमित र सौहार्द वार्तालाप देखेर म निकै प्रभावित हुन्थे ।

 

मैले झुम्कीसँग उनको पारिवारिक पृष्ठभूमी बारे केही जानकारी पनि पाएको थिए । छोरा–छोरीहरू साना हुँदा खेरिनै, झुम्कीको पतिको निधन भइसकेकाले पनि माता–पिता दुबैको भूमिका निर्वाह गर्दै बडो कठिनाई र जतनसाथ उनले आफ्ना केटा–केटीलाई हुर्काई–बढाई गरेको उनको कुराबाट स्पष्ट ज्ञात भइरहेको थियो । झुम्कीको आफ्नो घर–परिवारमा छोरा, बुहारी र सानो नाति बस्दै आएका थिए । मेरो सोधाईको उत्तरमा उनले भनेकी थिइन् कि उनीसँग, फोनमा नियमित रुपमा कुराकानी र  भलाकुसारी गर्ने उनको बुहारी बसन्ती थिइन् । सायद उसलाई, झुम्कीको अनुपस्थीतिले साह्रै पिरोलिरहेको थियो। हुनत कहिलेकाही, झुम्कीलाई उनको छोरा–छोरीहरूको पनि फोन आउने गर्दथ्यो । तर यो नियमित फोंनको विशेषता र प्रफुल्लता भने फरकै देखिन्थ्यो । समि्झदा आश्चर्य लाग्थ्यो कि झुम्कीको संवेदनशीलता र आति्मयता आफूले जन्माएका छोरा–छोरीहरूसँग भन्दा धेरै गुणा बढी, बुहारीसँग नै गाँसिन पुगेको थियो ।

 

प्रत्येक दिन फोनमा हुने वार्तालापमा के त्यस्तो नौलोपन नयाँ मिठास र उत्साह हुँदो हो ....... भन्ने जिज्ञाशाले मैले एकचोटि, झुम्कीलाई, यसबारे सोधेको थिए । जवाफमा उनले सधैनै, काम, स्वास्थ्य घर–परिवार र आफ्नै बारेमा कुरा त उस्तै हुन्छ । तर एक–अर्कासँग कुरा–कानी गर्न पाउदा र स्वर मात्र, सुन्न पाउदा पनि मन खुसी हुने हुनाले नै दिन–दिनै, कुरा गर्न जरुरीनै हुन आउँछ भनेकी थिइन । झुम्कीले आफ्नो भनाई साधारण बोलीचालीको भाषामा व्यक्त गरे तापनि त्यहाँ जीवन–दर्शनका ठूलो मूल्य र सन्देश अन्तर्निहीत भएको मलाई अनुभूति हुनपुग्यो । यस्तो स्नेह र संवेदनशीलताले मन छुने मात्र होईन् कि सायद यो त आजकल निकैनै दुर्लभ हुन पुगिसकेको यथार्थ हो । आधुनिक व्यस्त–जीवनशैलीमा सबै काम यन्त्रवत गर्नु पर्ने वाध्यताले सद्भाव र आत्मीयता नगन्य नै हुनपुगेको छ। कहिलेकाहि त समाजमा घटित घटनाहरूले मान्छे संवेदनहीन तथा निहीत स्वार्थ स्वचालित यन्त्र मानवमा परिणत हुँदै गईरहेको  दुखद स्थीतिसम्मको अनुभूति पनि हुन्छ । 

 

त्यसपछि थुप्रै विचार र तर्कनाले मेरो मन–मस्तिष्कमा घेरा हाल्न थाल्यो। आजको समाजमा आफ्नो परिवार र वर–परका सबैसँग, साधारण स्नेह, सद्भावको पनि खडेरी परेको बेलामा एउटा सानो गाउँको अशिक्षित समुदायको केटीको यस्तो अनुपम प्रेम, माया तथा सौह्रदयताले भरिएको मन छुने उद्गार र उदाहरण, देख्न सुन्न पाउदा हृदय आनन्दले प्रफुलित हुनपुग्यो । झुम्की र उसको बुहारी बसन्तीको हृदयमा एकअर्का प्रतिको आत्मियता, स्नेह, माया र समर्पणले परिपूर्ण, संवेदनशीलताको उर्लदो ज्वार–भाटा र यसका छालहरू, आधुनिक सामाजिक परिवेश र सम्पूर्ण मानवताका लागिनै उदाहरणीय तथा उल्लेखनीय भएको मनमा लाग्न पुग्यो । 

 

एकचोटि फोनमा बसन्तीसँग मेरो पनि कुरा भएको थियो । उसले सक्दो प्रयासका साथ बिनम्र भाषामा आफ्नो सासू–आमाको हेर–विचार पुर्‍याईदिने अनुनय–बिनय गर्न चुकेकि थिइनन् । गाउँको स्थानीय समुदायको केटी भएकीले उसलाई निश्चित रुपमा शहरी औपचारिक बोलीचालीको ज्ञान थिएन तैपनि उसले छोटो वार्तालापमा आफ्नो सानो बच्चाको कारणले पोखरा आउन नसकेको र सासू नै त्यति टाढा पुग्नुपरेको बिवशता तथा केही समयका लागि भए पनि उनीसँगको बिछोड कष्टदायी भएको, मलाई बयान गर्न भ्याएकी थिइन् । कुराकानीका बीचमा उनले हामीलाई कहिले नदेखेको–नभेटेको भएता पनि हाम्रो स्वास्थ्य, सुविधा आदिको बारेमा पनि सोध्न बिर्सेकी थिइनन् । समग्रमा बसन्ती सबैसँग स्नेह र सद्भाव राख्ने सहृदयी केटी भएको मेरो मनमा छाप पर्न गएको थियो । 

 

मलाई यस्तो लागि्थ्यो कि झुम्कीको जीवनको सबै भन्दा ठूलो  सहारा नै बसन्ती हुनपुगेकी थिइन । आजको जमानामा बिरलै देखिने र अनुभूति गर्न पाईने सासू -बुहारीको एक–अर्का प्रतिको यो अनुपम माया, विश्वास र स्नेहको बन्धन देख्दा, मन हर्ष–बिभोरित हुन्थ्यो । 

 

प्रसंगवस झुम्कीले बसन्तीको बारेमा केही कुराहरू बताउदै सम्बनि्धत घटनाहरू बयान गरेकी थिइन । छोरा घरमा नभएको बेलामा एक चोटि आफू, स्वास–प्रश्वासको समस्याले अत्यन्त पिडीत भइ, बिरामी परेको स्थीतिमा बसन्तीले पहिलो पटक गाउमा एउटा केटीले बैलगाडा हाकेर आफूलाई, राजापुरको सरकारी क्लिनिक सम्म पुर्‍याएको प्रसंग झुम्कीले हामीलाई सुनाएकि थिइन । आफ्नो परिवार, समुदाय र गाउकै लागि पनि आपद–बिपद्का बेलामा, समस्या टार्न र आफ्नो सहयोगी हातहरू अघि बढाउन पछि नपर्ने बसन्तीको स्वभाव उल्लेख गरेकि थिइन । मलाई लाग्यो कि बसन्तीकोे जीवनशैलीमा हुर्के बढेको माहोलको छाप भन्दा बढी र ठूलो प्रभाव उनको सोच, र निस्वार्थ भावनाको नै पर्न गएको रहेछ । सबैभन्दा ठूलो कुरा मान्छेको आन्तरिक इच्छा र समर्पण हुँदोरहेछ । मान्छेले आत्मादेखि नै चाह्यो र यसका लागि मनै देखि, प्रयत्नशील भएमा उसको बाटोमा  शिक्षा, श्रोत साधनको सीमितता तथा अन्य अवरोधहरूले तगारो हाल्न सक्दैन रहेछ ।

 

वास्तवमा सफल मान्छेहरूले कठिनाई र मुस्किलहरु नभएर आफ्नो उपल्वधी हासिल गरेका होइनन् । उनीहरूले त यस्ता सम्पूर्ण अबरोधहरूका सामना गरेरै आफ्नो गन्तव्यमा पुग्न सफल भएका हुन । यसका कतिपय उदाहरण विश्वमा प्रस्तुत भएका छन् । यो संसार र सम्पूर्ण मानव–जातिलाई, प्रकृतीको अनुपम दृश्यको वर्णन गर्दै, सुन्दर कविताको उपहार दिन सफल सुप्रसिद्ध कवि मिल्टन जन्म देखिनै दृिष्टबिहीन थिए ।


त्यसैगरी, विश्व–प्रसिद्ध सँगीतकार बीथोवेन जसको संगीतमा मन्त्र–मुग्ध गर्ने जादू नै थियो, उनी बहिरा थिए । विश्वका ठूला राजनेताहरू मध्य एक, अमेरिकी पूर्व–राष्ट्रपति फ्रान्क्लीन.डी. रुजवेल्टले व्हील–चियरमा बसेरै, संसारभरी नै अमेरिकाको प्रभाव पार्न सफल हुन पुगेका थिए । उनीहरूले सारा संसार र मानवताका लागि महान योगदान पुर्‍याउदै आफ्नो उपल्वधी हासिल मात्र गरेनन् कि बेजोडको यस कृती प्राप्त गर्न पनि पूर्ण रुपले सफल भएको तथ्यको इतिहास साक्षी छ ।

 

बसन्तीको बारेमा त्यति धेरै जानकारी पाइसकेपछि मलाई कुनि्ेन किन हो, एकचोटि, त्यो केटीसँग भेट गर्ने धुन सवार भइरहेको थियो । त्यहि भावनाले हामीलाई बर्दियासम्म डोर्‍याउन पुग्यो ।

 

झुम्की आफ्नो घरमा पुगेपछि बसन्तीले जुन खुसी र उल्लासले उनलाई, अंगालो मारेको मैले देखे, त्यो क्षण सदाको लागि मेरो हृदयमा अंकित हुन पुगेको थियो । किनभने यो एउटा अंंकमाल मात्र थिएन । यसमा मन भित्र जमेर रहेका मायाको उर्लदो भेल पनि थियो । जुन स्वत : स्फुर्त प्रस्फुटन भएर सम्पूर्ण वातावरणलाई तरल र तरंगित बनाइरहेको थियो । यस्तो मायामा बाँधिएका प्राणीहरूलाई महिनौं एक–अर्कासँग टाढा हुने परिस्थितिको सृजना गरेकोमा मैले आफूलाई, उनीहरूको दोषी मान्न पुगेको थिए त्यस क्षण । हुन त मैले झुम्कीको उमेर र उनको घर–परिवारबाट टाढा हुनु परेको पीडाको विशेष ध्यान राख्दै हामीसँगको उसको बसाई आरामदायी र सहज होस् भन्ने कुरामा बिचार पुर्‍याउने सकेसम्म कोसिस गरेकै थिए । तर त्यतिबेला मलाई प्रष्ट अनुभूति भइरहेको थियो कि झुम्कीको आफ्नो परिवार र प्रियजनहरूसँगको बिछोडको पिडाका अगाडि त्यो कोसिस ज्यादै नै नगन्य थियो । अझ–भनौ, उनको क्षतिको भर्पाई संसारको कुनै पनि भौतिक सुख,सुबिधाले गर्न सक्ने त कुनै कुरै थिएन । आजको संसार र सामाजिक परिवेशमा लामो समयसम्म, टाढा गएर फर्कदा पनि सायद धेरै कम मात्रामा आफ्ना परिवारजनबाट यस्तो मन छुने स्नेह र मायाका भावनाहरू देख्ने सुन्ने र महशुस गर्ने सौभाग्य मिल्छ होला । यस्तो अलौकिक अनुभूति आज एकदमै दुर्लभ हुन पुगिसकेको छ ।

 

यस्तो भावनात्मक परिदृश्य देख्दा र बसन्तीसँग, छोटो कुराकानी गर्दा, मलाई सुखद र रमाईलो महसुस भइरहेको थियो । वास्तवमा जीवनमा सच्चा खुसी प्रदान गर्न सक्ने सामथ्र्य, नाम –प्रसिद्धी र धन दौलतमा बिल्कुलै हुदैन रहेछ अपितु यो त पारस्परिक माया, स्नेह र समझदारीमा नै अन्तरनिहीत हुँदोरहेछ भन्ने मनको विश्वास, बसन्तीसँगको त्यो भेट–घाटले अझ गाढा र गहिरो हुनपुग्यो ।

 

करिब एक घण्टा, जति मै त्यो गाउँलाई छाडेर हामी त्यसैदिन नेपालगन्ज फर्केका थियौं । तर त्यो गाउ–ठाउँँ, त्यसका बेमिसाल घटना र पात्रहरूले आजसम्म पनि मलाई छाडेको छैन ।

 

आजको यो प्रतिस्पर्दात्मक, व्यक्तिवादी  र स्वार्थी संसारमा तिनीहरू जस्ता मान्छेले मात्र, अझै  निस्वार्थ त्याग तथा मायाको गरिमालाई बचाएर राखेकाछन् । पटक–पटक मेरो मनमा एउटै विचारले शिर उठाई  रह्यो कि, वास्तवमा यिनीहरू "ओझलमा परेका दृष्टान्तहरु" हुन । सायद यसैमा आधुनिक परिवार र समाजले भोग्नु परेको थुप्रै कष्ट र चिन्ताबाट उन्मुक्ति पाउने जुक्ती नै अन्तरनिहीत हुन पुगेको पो छ कि ? यो कसले कहाँ र कसरी पैलाउन सक्छ ...... त्यो चाहिँ आ–आफ्नै बुझाईको कुरो हो । 

 

 (प्रा.डा.शाहको प्रकाशित पुस्तक 'अघि सरेका पाईला' बाट उद्घृत अंश) 


 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार