• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

चन्द्रयान- २ को चन्द्रमा छुने प्रयास विफल भएपनि भारतको 'ठूलो जित'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान-२ कार्यक्रमबाट आफू गौरवान्वित भएको बताएका छन्। चन्द्रमा छुने यात्रा अधुरो रहेपनि चन्द्रयान-२ मिशन भारतको 'ठूलो जित' भएको प्रतिक्रियाहरू त्यहाँ व्यक्त भएका छन् ।

 

चन्द्रयान-२ को विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो। विक्रम ल्यान्डरबाट निराशा प्राप्त भएपनि चन्द्रयान-२ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ ।

 

अर्बिटरमा कैयौँ वैज्ञानिक उपकरण जडिएका छन् जसले अहिलेसम्म काम गरिरहेका छन्। चन्द्रमा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्याङ्कहरू प्राप्त हुने बताइएको छ ।

 

यो वैज्ञानिक मिशन पूरा गर्न ११ वर्ष लागेको थियो। इसरोले कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन कोशिश गर्नेछ र आगामी कदमबारे निर्णय लिनेछ। इसरोको अर्को ठूलो मिशन गगनयान हुनेछ जसमा अन्तरिक्षयात्री पनि पठाउने योजना छ ।

 

अन्तरिक्ष यानलाई के भयो भन्नेबारे प्रष्ट भइसकेको छैन तर प्रधानमन्त्री मोदीले त्यस्ता अरु पनि अवसर आउने बताए । यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो ।

 

मोदीले वैज्ञानिकहरूलाई भने : 'हाम्रो अन्तरिक्ष कार्यक्रममा अझ राम्रो क्षण आउन बाँकी छ । भारत तपाईँका साथमा छ। यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान(२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको थियो।

 

इसरोका प्रमुख के. शिवनले भने, 'चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य थियो । तर त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको छ। तथ्याङ्कको समीक्षा भइरहेको छ ।'

 

राति १.३० देखि २.३० को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो। भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए ।

 

अन्तिम क्षण
सबै कुरा राम्ररी अघि बढिरहेको थियो र वैज्ञानिकहरू विक्रम चन्द्रमाको सतह निकट पुग्न लागेको हर क्षणलाई पछ्याइरहेका थिए। तर अन्तिम क्षणतिर इसरो केन्द्रमा तनावपूर्ण स्थिति बनेपछि वैज्ञानिकका मुहारमा चिन्ता प्रकट हुन थालेको देखिन्थ्यो ।

 

केही बेरपछि इसरो अध्यक्ष प्रधानमन्त्री मोदीकहाँ गएर अवस्थाको जानकारी गराए। इसरोका पूर्व अध्यक्ष कस्तूरीरंगन र के। राधाकृष्णनले उनको काँध थपथपाएर सान्त्वना दिए ।इसरो प्रमुखले यसअघि नै चन्द्रमा सतहमा अवतरण गर्नुअघिको १५ मिनेट 'भयाक्रान्त' हुने बताएका थिए। त्यसको केही बेरपछि इसरोका अध्यक्षले बताए( विक्रमसँग इसरो केन्द्रको सम्पर्क विच्छेद भएको छ ।

 

मोदीको ढाडस र प्रतिक्रिया
त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिकहरूको बीचमा गए र उनीहरूको हौसला बढाउँदै उनीहरूलाई सम्बोधन गरेका थिए। मोदीको भनाई थियोस् 'जीवनमा उतार चढाव आइरहन्छ। सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ । तर यो कुनै सानो उपलब्धि होइन ।  मुलुकले तपाईँहरूमाथि गर्व गर्छ। तपाईँहरूको मेहनतले धेरै कुरा सिकाएको पनि छ…मेरो तर्फबाट तपाईँहरू सबैलाई बधाइ छ। विज्ञानले देशको र मानवजातिको ठूलो सेवा गरेको छ। यो चरणबाट हामीले धेरै कुरा सिकिरहेका छौं। हाम्रो यात्रा अगाडि पनि जारी रहनेछ। म पूर्ण रुपमा तपाईँहरूको साथमा छु।' शनिवार विहान मोदीले इसरो मुख्यालयमा वैज्ञानिकहरूलाई सम्बोधन गरेका थिए।

 

'मैले गतरात तपाईँहरूको मनस्थिति बुझेको छु। तपाईँहरूको आँखाले धेरै कुरा भनिरहेको थियो। तपाईँहरूको मुहारको उदासी मैले देखिरहेको थिएँ। तपाईँहरू कयौं दिनदेखि सुत्नुभएको थिएन। मलाई लाग्यो विहान फेरि भेटेर थप कुरा गरौं।'

 

इसरोका अध्यक्ष सिवनलाई अँगाल्दै प्रधानमन्त्री मोदीले ढाडस दिएको भिडिओ सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो। जसमा देशभित्र र बाहिरबाट मानिसहरूले वैज्ञानिकहरूको प्रशंसा र हौसला बढाउने शब्दहरू खर्चिएका छन्।

 

तर पाकिस्तानमा ३क्ष्लमष्बँबष्भिम लेखिएका मानिसहरूका प्रतिक्रियाहरू ट्वीटरमा सबैभन्दा धेरै चर्चित बनेका छन्। पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले सम्पर्क विच्छेदपछि मोदीको भनाई रहेको ट्वीटलाई उद्धत गर्दै प्रतिक्रिया जनाएका छन्।

 

'मोदीले नेता होइन अन्तरिक्ष यात्रीजसरी स्याटलाइट कम्युनिकेसनमाथि भाषण दिइरहेका छन्। लोकसभाले मोदीसँग एउटा गरिब देशको नौ सय करोड रूपैयाँ बर्बाद गर्नुको कारण खोज्नुपर्छ।'

 

महत्त्वपूर्ण रात
भारतीय अन्तरिक्ष वैज्ञानिकहरूका लागि शुक्रवारको रात महत्त्वपूर्ण थियो। राति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान-२ को विक्रम ल्यान्डरलाई विस्तारै-विस्तारै चन्द्रमाको सतहतर्फ लगिरहेका थिए।

 

विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपर्थ्यो र उसलाई चन्द्रमाको सतहतर्फ लगिनुपर्थ्यो। ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर पनि थियो जसले सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नुथियो।

 

इसरोको चन्द्रयान-२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नु थियो। सबै राम्रै भइरहेको भएपनि सतहमा पुग्नु केही बेरअघि ने ल्यान्डरसँग सम्पर्क विच्छेद भयो।

 

अनुसन्धान
यदि सफल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्नेवाला थियो। १५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिशनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो।

 

यसअघि सन २००८ मा भारतले चन्द्रयान-१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो। चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।

 

यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइने र चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको थियो। विक्रम नामक लेण्डरले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोकेको थियो।

 

त्यसले चन्द्रमाको भूसतहको अन्वेषण गर्ने योजना राखिएको थियो। यदि भारतको प्रज्ञान रोवरको सेन्सरले चन्द्रमाको दक्षिणी भागमा रहेको पानीको विशाल पोखरीको प्रमाण खोज्न सकेको भए यो ठूलो खोज हुनेवाला थियो।

 

यसलाई भारतीय अन्तरिक्ष निकायको अहिलेसम्मकै सबैभन्दा जटिल र महत्त्वकांक्षी काम मानिएको थियो। चन्द्रयान-२ मिशनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिशन पठाउने योजनामा काम गरिरहेको छ।

 

अहिले पनि पूर्ण रुपमा आशा समाप्त भइनसकेको र ल्यान्डरसँग सम्पर्क स्थापित हुनसक्ने आशा गरिएको बताइएको छ। यो पलको साक्षी बन्न देशभरका ६० जना छात्र(छात्रा पनि यो सेन्टरमा बसिरहेका छन् जसलाई प्रश्नोत्तरपछि चयन गरिएको थियो । पल्लव बागला / बीबीसी हिन्दी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार