• शुक्रबार ६-३-२०७६/Friday 09-20-2019
डबली

लेखक न्यौपानेको ‘गुलाबी उमेर’ बजारमा 

काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको ‘गुलाबी उमेर’ लोकार्पण भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन । 

 

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले यो पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए । यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको  छ । 

 

पुस्तकमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको उनको टिप्पणी छ । पुस्तकमा लेखनमा नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्को पाठक खडा गरिनु पनि नौलो अभ्यास रहेको उनले बताए । नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले सघाउने उनको भनाइ छ । 

 

नायिका केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको बताइन्। उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो। मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन्।’

 

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए । उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।’

 

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै गुलाबी उमेर हो ।

 

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्चल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो  र २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ । ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो ।

 

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार