• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

शेरबहादुर दाइलाई खुलापत्र !

शेरबहादुर दाइ, जय नेपाल !

म तपाईलाई ‘बिपीजस्तो बन्नुहोस्’ भन्दिनँ; बिपी दुईजना थिए—पूर्वाद्र्धका साहसी बिपी र उत्तराद्र्धका सचेत बिपी । म कान्छा बिपीले बनाएको प्रजातन्त्रवादी हुँ । शेरबहादुर दाइ, म तपाईंलाई सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्तो बन्न पनि भन्दिन । सुशील कोइराला जस्तो त तपाईं हुनै सक्नुहुन्नथ्यो । तपाईं गिरिजाबाबु जस्तो हुन आँट्नुभयो मलाई यसैमा चिन्ता छ ।

 

शेरबहादुर दाइ, तपाई शेरबहादुर नै हुनुहोस् । म तपाईंको शुभचिन्तक सल्लाहकार हुँ कि होइन, विज्ञ पाठकहरूले थाहा पाउन् भनेरै यो पत्र लेखेको हुँ ।

 

प्रजातन्त्रवादीहरू खुला हुन्छौँ; पारदर्शी हुन्छौँ । हामी साउती नै मार्छौं । 

 

अँ, शेरबहादुर दाइ ! तपाईं शेरबहादुर नै हुनुहोस् । शेरबहादुर देउवा अथवा शेरबहादुर....(?)...मध्ये के हुने हो, तपाईं आफैँ रोज्नुहोस् । त्यसपछि अर्को पत्र लेखुँला ।

 

आज चाहिँ मैले तपाईंहरूको जागरणमा आउनुपर्ने लोकतन्त्र बचाउने मन्त्र लेख्न मन लाग्यो । 

 

१. लोकतन्त्रवादीले बहुसंख्यक नागरिकको अभिमतलाई स्वीकार गर्नुपर्छ अथवा अभिमत अनुचित हो भने जिब्रो नचपाई सम्झाउनुपर्छ । नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतावादी हो कि अधर्मवादी अर्थात् धर्मनिरपेक्षतावादी हो ?

 


२. लोकतन्त्रवादीले विधिको शासन मात्रै मान्छ । विधि भताभुङ्ग भएको हेरेर बस्दैन । विधिको शासन संवैधानिक परिषद्लाई स्वतन्त्र राख्नाले आउँछ कि राजनीतीकरण गर्नाले आउँछ ? संवैधानिक निकायलाई राजनीति–मुक्त गराउन नेपाली कांग्रेसको भूमिका कस्तो हुन्छ ? 

 


३. उचित पदमा योग्य व्यक्ति मात्रै नियुक्त हुनुपर्छ । उचित पदमा अयोग्य व्यक्तिलाई नियुक्त गर्नाले विधिको शासन समाप्त हुन्छ । नेता अथवा नेतापत्नीका पुच्छर नभईकन नियुक्ति पाइँदैन भन्ने स्थापित मान्यतालाई निषेध गरी नागरिकलाई आश्वस्त पार्न कांग्रेस पार्टीले के गर्छ ?

 


४. देश र जनतालाई साँच्चीकै माया गर्ने नेताले पार्टीको नीतिलाई प्रयोगमा ल्याउँछ । पद–लोलुप नेताले कमाराहरू पाल्छ । कमारा अर्थात् कार्यकर्ता । कमाराहरू पाल्ने सामन्त नेताले भ्रष्टाचार गर्छ । तपाईं कुन पंक्तिमा हुनुहुन्छ? विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सी.के. प्रसाईं, शैलजा आचार्य, भीमबहादुर तामाङ र सुशील कोइराला आदिको अथवा गिरिजाप्रसाद कोइराला र उनका मानस सन्तानहरूको ? 

 


५. मेरो सुझाव सुन्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने मनन गर्नुहोस् -


५. १. तपाईं दुई थरी शेरबहादुरमध्येको एक थरी शेरबहादुर हुनुहोस् । 


५. २. विधिको शासन स्थापना गर्नका लागि आफ्नो पार्टीका तर्फबाट संवैधानिक पदमा नियुक्त भएकाहरूलाई फिर्ता बोलाई संवैधानिक निकायहरूलाई स्वतन्त्र बनाउनका लागि सरकारलाई दबाव दिनुहोस् ।

 
५. ३ भ्रातृ अथवा भगिनी–सङ्गठनविहीन विशुद्ध पार्टी बनाउनुहोस् । विभिन्न वर्गको प्रतिनिधित्व आन्तरिक निर्वाचनबाट सुनिश्चित गर्नुहोस् ।  


५.४ पार्टीको सङ्गठनमा न्यूनतम पदाधिकारी तथा सदस्य रहने गरी व्यवस्था गर्नुहोस् । 


५.५ शैक्षिक, प्रशासनिक आदि क्षेत्रलाई राजनीति–मुक्त बनाउन आफ्ना अनुचरहरूलाई सचेत गराउनुहोला ।


५.६ कार्यकर्ता पार्टी र व्यावहारिक सिद्धान्तको हुनुपर्छ । नेताको हुनु हुँदैन । तपाईं–हामी सबै कार्यकर्ता हौँ । तपाईंहरूका कमाराहरूलाई मुक्त बनाउनुहोला । मुक्त कमाराहरूलाई परिश्रम गरेर बाँच्न प्रेरित गर्नुहोला ।


५.७ राजनीति व्यवसाय होइन । निष्ठापूर्ण सेवा र सरोपकार हो । यसमा तपाईंको प्रतिबद्धता व्यवहारबाट व्यक्त गर्नुहोला ।


५.८    संघीय सरकारमा जम्मा १० जना मन्त्री तथा ३० जिल्ला र ३० जना विधायक भए पुग्छ । प्रदेशमा एकजना मन्त्री र एकजना सहायक मन्त्री भए पुग्छ । पालिकामा एकजना प्रमुख र एकजना उपप्रमुख भए पुग्छ । अयोग्य र बेरोजगार जति नेता हुन् भन्ने भ्रमको उपचार यही नै हो । संविधान संशोधनका लागि प्रस्ताव राख्न सक्नुहुन्छ ?


५.९ हिमाल र तराई जोड्ने गरी प्रदेशको सीमाङ्कन गराउन सकिएन भने राष्ट्रियता ध्वस्त हुने खतरा छ । तपाईंहरूलाई कहिलेदेखि थाहा हुन्छ ?


५.१० सेना, प्रहरी, निजामती कर्मचारी, शिक्षक–प्राध्यापक आदिको ५० प्रतिशत दरबन्दी घटाएर सेवारतलाई जीविका टर्न सक्ने पारिश्रमिक दिई कर्तव्य–परायण बनाउनुपर्छ ।


५.११ यतिञ्जेलको बाध्यात्मक नीतिगत भ्रष्टाचारको दोष गिरिजाबाबुकै नाममा चढाएर उहाँकै तर्फबाट नेपाली नागरिकहरूसमक्ष सार्वजनिक रूपमै क्षमायाचना गर्नुहोला। भविष्यमा आफू र आफ्ना सहकर्मीहरूबाट भ्रष्टाचार हुनै नसक्ने विश्वसनीय आधार प्रस्तुत गर्नुहोला ।

 

बाँकी विषयको चर्चा कुनै दिन जम्काभेट भएछ भने गरौँला । तपाईंकै दलको सक्रिय सदस्य भएको नाताले यति सुझाव दिएँ । मान्नुभएन भने विद्रोह गर्न मैले पनि जानेको छु । 

 

मेरो विद्रोहले फुटाउने अथवा टुटाउने गर्दैन जतिसक्दो जुटाउने गर्छ । मेरो विद्रोहले निहत्थाको प्राण लिँदैन बरु प्राण दिन्छ । श्रीकृष्णदेखि कार्लमाक्र्ससम्मले स्वीकार गरेको द्वन्द्वात्मक भौतिक वादबाट द्वन्द्व मात्र भइरहन्छ । साम्यवाद आउँदैन । अध्यात्मको अध्ययन नै नगरेका कार्लमाक्र्स नै कम्युनिष्ट होइनन् । नेपालमा कम्युनिष्ट छन् भन्ने भ्रम मलाई छैन । कांग्रेसका भाइ हुनाले भाइरसको भूमिका निर्वाह गर्नु भ्रान्तहरूको धर्म हो । ती बिचराहरूलाई यूरोप, अमेरिका आदिका मानसपुत्र भनिरहनु पर्दैन । दरबारबाट पालियून् अथवा दिल्लीबाट हुर्किउन् । त्यो पनि मलाई वास्ता भएन । 

 

म अचेल तथाकथित वामपन्थी र जी.पी. कांग्रेसमा भेद नदेख्ने भइसकेको छु ।

 

जे पायो त्यही गर्ने जी.पी. मार्गीलाई कांग्रेस भन्नै सकिनँ । राजाले देशको मौलिक भाषा, धर्म, संस्कृति तथा सीमा अथवा राष्ट्रियता जोगाउँछन् भन्ने विश्वास पनि मलाई छैन । विद्रोह नगरी बसूँ, जिउँदोपनको भ्रम छ । विद्रोह गरूँ, भ्रष्टगामीहरूले प्रतिगामी भन्लान् कि भन्ने भय छ । 

 

नबिराउनू, नडराउनू । मेरो भाग्यमा शेरबहादुर दाइ अथवा अरू कुनै नेताको कृपा प्राप्त हुने योग नै छैन, यसकारण मैले डराउनु हुँदैन ।  हुन त म आफू सङ्गठित हुन भ्याएको छैनँ । सङ्गठन गरेरै विद्रोह गर्नुपर्छ भन्नुहुन्छ भने त्यो पनि सोचुँला । पार्टी नफुटाईकन अनि अन्तर्घात पनि नगरीकन लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास मैले गीताबाट ग्रहण गरेको छु । 

 

मलाई विश्वास छ, यदि म निष्ठावान् व्यक्ति हुँ भने कहिल्यै एक्लो हुनुपर्दैन ।

 

जय नेपाल !

 

तपाईंले नपत्याएको उही शुभ चिन्तक ।
      

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार