• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

भड्किलो तीज 


फ्रेस संवाददाता, काठमाडौं । महिलाहरूको महान पर्व तीजले अहिले सबै वर्गलाई छोएको छ । फेरिएको तीज शैलीकै कारण हरेक वर्गको तीज पर्व प्रति आकर्षण बढेको देखिन्छ । फेरिएको तीज शैलीसंगै नयाँ पुस्ताका महिलाले तीजको असली सस्कृति विर्सदै गएका छन ।

 

तीज आउनु हप्ता दिन अघि नै तीजमा आधुनिकता, अश्लिलता र भड्किलो गीत÷संगीतसंगै तडकभडक र रमझम सुरू हुन थालेको छ । जसका कारण नयाँ पुस्ताले तीजको सस्कृति विस्तारै विर्सदै गएका हुन कि भन्दा पनि फरक नपर्ला । तीजमा छोरी–चेली जम्मा भएर रमाइलो गर्ने परम्परालाई  पछिल्लो पुस्ताले मतलब गर्न छोडेको मात्र छैन आफनै मूल्य र मान्यता समेत स्थापित गर्दै लगेको पाइन्छ । 

 

रमाइलो गर्ने नाममा साथीभाई जम्मा गरेर दर खाने नाममा अहिले तीजले  बेग्लै रूप लिन थालको छ । शहरीया महिलाहरू फुर्सदमा हुने भएकाले पनि समय कटाउनकै लागि यस्तो रमझममा सरिक हुने गरेको बताउँछिन नायिका करिश्मा मान्नधर । ‘तीज हामी महिलाहरूको महान चाड हो, यसलाई रमाइलो गरेर मनाउनु पर्छ’ नायिका मानन्धरले बताइन । ‘तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तीजको के मतलब भयो र ।’

 

तीज भनेको तडकभडक रहित मनाउने हो । हामीले हाम्रो परम्परालाई बिर्सनु हुदैन । अहिले तीजको महत्व बुझने अलि कम छन् । तीजलाई आडम्वरी र खर्चीलो तरिकाले मनाइने कारणले समाजमा विकृति फैलिने र चाडपर्व प्रति बितृष्णा जगाउने कलाकार मिथिला शर्मा बताउँछिन् । कुनै पनि चाडपर्व साधारण र सरलताले मनायो भने त्यसको महत्व पनि बड्ने शर्माले बताइन । 

 

तीजको अवसर भन्दै अहिले होटल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने, गहना प्रदर्शन गर्ने र तीजे प्रतियोगिता आयोजना गर्ने चलन हावी हुदै गएको यत्रतत्र देखिन्छ ।संस्कृतिको जर्गेना गर्ने नाममा तीजलाई महङ्गो पर्व बनाइदैछ लगिएको छ । एक महिना अघिदेखि फलानो र ढिस्कानो तीजे कार्यक्रम राख्नेहरूको ताती नै लागेको छ । पहिले एक दिन खाइने दर अहिले दुई महिनासम्म खान थालिएको छ । तीजको वर्तको एकदिन अघि नाचिने नाच अहिले पहिले देखि नै नाच्न थालिएको छ । तर पछिल्ला पुस्ताका महिला यसलाई भड्किलो पर्व मान्न तयार छैनन् । ‘यो समयको माग हो नि’ भन्नेहरूको कमी छैन ।

 

‘महिलाको पर्व हो, सधै पुरानै ढर्राले चल्नु पर्छ भन्ने पनि त छैन’, गायिका कोमल ओली भन्छिन, ‘सधै एउटै शैलीमा तीज मनाउँदा के को रमाइलो हुन्छ र यसो फेरिनु प¥यो नि !’ कुनै जमाना थियो, माइतीमा दर खाने र चौतारीमा धित मरुन्जेल नाच्ने गाउने । अनि आफ्नो पोइली घरको दुःखसो र गुनासा माइती घरमा सुनाउने । टाढा माइती भएका या माइती नभएका महिलाहरू घरमै तीज मनाउँथे । माइत जान नपाएको पीडा गीत मार्फत पोख्थे । यो त्यो जमानाको कुरा हो, जतिबेला महिलाहरूको सँसार घर, घाँस–दाउरा र मेलापातामा सीमित थियो । तर आज समय बदलिएको छ, महिलाहरूको सँसार फराकिलो भएको छ र तीज फेरिएको छ । त्यसैले तीज पनि उम्मुक्त शैलीको बन्दै गएको छ ।  

 

गायक बद्रि पँगेनी भन्छन् ,‘पछिल्लो समय तीजको नाममा ठुलो बिकृती भित्रिएको छ । गरगहना प्रर्दशन गर्ने होडबाजी चलेको छ । होटलमा गएर दर खाने प्रवृति तीजको सँस्कृति होइन, तर त्यही संस्कृति बन्दै गएको छ ।’ पँगेनीको बुझाइमा यी र यस्ता क्रियाकलापले तीजको गरिमा घटाएको छ । मौलिकता मासिँदै गएको छ । अपनत्व टाढिँदै गएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार